सूचनाको शक्ति - The Power Of Information

        

कहालीलाग्दो तथ्यांक

बन्दाबन्दीमै २२१८ जनाद्वारा आत्महत्या, प्रदेश–५ मा सबैभन्दा बढी

सांकेतिक तस्वीर

काठमाडौं । पहिलो चरणको बन्दाबन्दीमा औसत दैनिक १८ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । चैत ११ गतेदेखी शुरु भएर साउनको पहिलो साता अन्त्य भएको बन्दाबन्दीको अवधिमा देशभर २ हजार २१८ जनाले आत्महत्या गरेको कहाली लाग्दो तथ्यांकले देखाएको हो ।

नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार चैत्र ११ गतदेखी साउनको ४ गतेसम्म विभिन्न तरिकाको आत्महत्याबाट मर्नेको संख्या २ हजार २१८ जना रहेको बताएको छ । जसअनुसार औसत दैनिक १८ जनाले आत्महत्या गरेको देखिन्छ । यो घटना प्रहरी समक्ष आएको तथ्यांक मात्र हो । तर, यो तथ्यांक विगतका वर्षजस्तै हाराहारीको संख्यामा रहेको छ ।

मृतकमध्ये सबैभन्दा धेरै पुरुष, त्यसपछि महिला, बालिका र बालकहरु रहेका छन् । प्रहरीका अनुसार कुल मृतकमध्ये करिव ५३ प्रतिशत पुरुष रहेका छन् । बन्दाबन्दीको ११७ दिनको अवधिमा १ हजार १७२ जना पुरुषले आत्महत्या गरेका हुन् । यस्तै, ८११ महिला, १४१ बालिका र ९४ जना बालकले बन्दाबन्दीको समयमा आत्महत्या गरेका छन् ।

सबैभन्दा धेरै झुण्डिएर साढे ८२ प्रतिशतले आत्महत्या गरेका छन् । यो अवधिमा १ हजार ८२८ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । झुण्डिएर आत्महत्या गर्नेपछि सबैभन्दा बढि विष सेवन गरेर मर्नेको संख्या रहेको छ । ३४६ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।

यसैगरी, आगो लगाएर ४ जना, औजार हातहतियारबाट ८ जना, हाम फालेर १९ जना, करेन्ट लगाएर १ जना र डुबेर १२ जनाले आत्महत्या गरेका छन् । प्रदेशगत हिसाबमा हेर्ने हो भने सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश–५ मा देखिएको छ । प्रदेश–५ मा बन्दाबन्दीको समयमा ४२९ जनाले आत्महत्या गरेका छन् ।

यस्तै प्रदेश–१ मा ३७१ जना, प्रदेश–२ मा ३०५ जना, वाग्मती प्रदेशमा ३८५ जना र गण्डकी प्रदेशमा २४६ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा आत्महत्या कम हुने प्रदेशमा कर्णाली परेको छ । बन्दाबन्दीको अवधिमा कर्णाली प्रदेशमा ११९ जनाले आत्महत्या गरेका छन् । सुदूरपश्चिम प्रदेशमा २०४ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा १५९ जनाले आत्महत्या गरेका छन् । जसमा ९१ पुरुष, ६३ महिला, ३ बालक र २ बालिका छन् । बन्दाबन्दीमा परेका चैत, वैशाख र जेठमा भएका मासिक आत्महत्याका घटनाको संख्यालाई त्यसभन्दा ठीक अगाडिको फागुन महिनासँग तुलना गर्दा बढेको देखिन्छ ।

चैतमा ४८३ जना, वैशाखमा ५७८ जना र जेठमा ५८६ जनाले आफ्नो ज्यान लिएका छन् भने, फागुनमा यो संख्या केवल ४१५ मात्र थियो । आर्थिक वर्ष २०७६/०७७ र २०७५/०७६ सँग तुलना गर्दा भने बन्दाबन्दीमा आत्महत्या गर्ने र अघिल्लो वर्ष सोही महिनामा आत्महत्या गर्नेको संख्या लगभग मिल्दोजुल्दो देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको चैतमा आत्महत्या गर्नेको संख्या ४६७ थियो भने, वैशाख र जेठमा ६००/६०० जनाले आत्महत्या गरेका थिए । सोसल साइन्स बहाःको सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीमा अनुसन्धाता अर्जुन खरेलका अनुसार गत दुई वर्षका आत्महत्याका मासिक तथ्यांक हेर्दा वैशाख, जेठ र असारमा सापेक्षिक रूपले बढ्ने गरेको र पुस–माघमा घट्ने गरेको बताए ।

‘आर्थिक वर्ष २०७५/०७६ को माघमा आत्महत्याको मासिक आँकडा वर्षकै सबैभन्दा थोरै ३९४ थियो भने, सोही वर्षको वैशाखदेखि असारसम्म प्रतिमहिना कम्तीमा ६०० जनाले आफ्नै हातले आफ्नो जीवनलीला समाप्त गरेका थिए,’ उनले भने, ‘त्यसरी नै आर्थिक वर्ष २०७६/०७७ को पुसमा ३५२ जनाले मात्र आत्महत्या गरेका थिए भने, वैशाख र जेठमा यो संख्या बढेर वर्षकै सबैभन्दा उच्च क्रमशः ५७८ र ५८६ पुगेको थियो ।’

मनोपरामर्शकर्ताका अनुसार बेरोजगारी बढ्नु, मानसिक तनाव, सामाजिक–सांस्कृतिक सन्दर्भमा देखिने कतिपय विभेद र बालबालिकामा पर्ने मानसिक असरले आत्महत्याका घटना हुने गरेको बताउछन् । काठमाडौं विश्वविद्यालयका विद्यार्थी मनोपरामर्शकर्ता माधव खतिवडाका अनुसार आत्महत्याका घटना कामदारहरू घर फर्केको समयमा वृद्धि हुने र कामका लागि बाहिर गएको समयमा कम हुने कुरालाई संयोग मात्र मान्न नसकिने बताए ।

‘कामदारहरूको आगमनपश्चातको सामाजिक तथा पारिवारिक एकीकरणको चुनौती, संयुक्त बसाइसँगै परिवारमा बढ्न सक्ने अन्तरवैयक्तिक समस्या, रोजगारीमा जान वा अन्य प्रयोजनका लागि लिएको ऋण र चर्को ब्याजदरको समस्या, घरबाट टाढा रहँदा भोग्ने तनाव तथा आघातले पैदा गरेको मनोवैज्ञानिक समस्यासहित अन्य मनोसामाजिक कारणले यो बेला आत्महत्याका घटनाहरूमा वृद्धि हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न मिल्दैन,’ उनको भनाई छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार ०८:४१