सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

चिकित्सकमा संक्रमित भएपछि भेरी अस्पतालको नियमित सेवा खुम्चियो

बाँके । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका दुईजना बरिष्ठ चिकित्सकहरु भाइरस संक्रमित भएपछि भेरी अस्पताल नेपालगन्जले आफ्नो सेवालाई खुम्च्याएको छ ।

अस्पतालमा भाइरस संक्रमणको जोखिम नहोस् र थप चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमणको चपेटामा नपरुन् भन्ने उद्देश्यले ओपिडी सेवा १२ बजेपछि बन्द गर्न सुरु गरिएको अस्पतालका मेसु डा. प्रकाश थापाले बताए । ‘सेवा नै बन्द गरिएको छैन,’ उनले भने, ‘अव विरामी संख्या तोकेर सेवा दिइरहेका छौं ।’ अस्पतालले अहिले ३० जनालाई मात्र ओपिडी सेवा दिइरहेको छ ।

‘सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई विरामीको सेवामा खटाउँदा भोली सबैलाई संक्रमणको जोखिम हुन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा सबै सेवा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ । निश्चित चिकित्सक र स्वास्थ्यकर्मीलाईमात्र एक्सपोज गरेर सेवामा खटाइरहेका छौं ।’ उनले सिफ्टवाइज चिकित्सक र स्वास्थ्यकर्मी परिचालनको तयारी भइरहेको बताए ।

‘चिकित्सक र स्वास्थ्यकर्मीको दुई समूह बनाएर हप्ता दश दिन एउटा समुह र त्यसपछि अर्को समूहलाई डिउटीमा खटाउने गरी तयारी थालिएको छ,’ उनले भने । भेरीका जनरल वार्ड विभिन्न किसीमका रोगी विरामीले भरिएका छन् । जनरल वार्डमा १५० वेड छन् । तर कोभिड–१९ का कारण अहिले ५० वेडमा झारिएको छ । ती सबै भरीभराउ छन् ।

एक सय वार्ड कोभिड–१९ बिशेष अस्पतालका लागि छुट्याइएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा संक्रमण बढ्दै गए अस्पतालको इर्मेजन्सीबाहेकका सबै बन्दै गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ । अस्पतालका कोरोना फोकलपर्सन डा.संकेत रिसाल र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेलाई भाइरस संक्रमण भएपछि उनीहरुको सम्पर्कमा रहेका चिकित्सकसहित एक दर्जन स्वास्थ्यकर्मी अहिले क्वारेन्टिनमा बसिरहेका छन् ।

क्लोज कन्ट्याक्टमा रहेकाहरुको नमुना संकलन गर्ने काम भइरहेको मेसु थापाले बताए । भेरीमा दुई डाक्टरसहित चार जनामा भाइरस संक्रमण देखिएको छ । प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पतालमा ती प्रदेशका विभिन्न जिल्लाबाट विरामीहरु सेवा लिन आउने गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १५:२१