सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनामुक्त नरैनापुरमा फेरि देखियो संक्रमण, बाँकेमा संक्रमितको संख्या ८२९ पुग्यो

देशभर ८१८ जनामा संक्रमित थपिए, १० मिनेटको अन्तरमा दुईको मृत्यु

बाँके । बाँकेमा आइतबार आठ जना संक्रमित थपिएका छन् । थपिएकामध्ये नरैनापुरमा एक जनामा फेरि कोरोना देखिएको छ । नरैनापुर–५ की २५ वर्षीया महिलामा कोरोना देखिएको हो । शुरुवाती चरणमा कोरोना संक्रमित देखिंदा नरैनापुर हटस्पट बनेको नरैनापुरमा केही समयपछि कोरोना देखिन छोडेको थियो ।

सय बढीमा कोरोना देखिएको नरैनापुरमा सेना परिचालन गरेर मान्छेको भीडभाड र भारतबाट जथाभावी आउने क्रम रोकिएपछि कोरोना देखिन छोडेको थियो । त्यसपछि लामो समयसम्म कोरोना देखा परेको थिएन । बाँकेमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति पनि नरैनापुरकै थिए । तर, आज एक महिलामा संक्रमण देखिएको छ ।

आइतबार थपिएका संक्रमितमा नेपालगन्जका ५ जना र कोहलपुरका दुई जना रहेका छन् । नेपालगञ्ज र कोहलपुरमा दैनिकजसो नै संक्रमित थपिने क्रम जारी रहेको छ । बाँकेमा संक्रमितको संख्या ८२९ पुगेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । २११ जना उपचारमा छन् भने ६१४ जना डिस्चार्ज भइसकेका छन् ।

यसैबीच, कोहलपुरमा एकजना संक्रमित सम्पर्कबिहीन भएका छन् । कोहलपुर वडा नं. १२ ठेगाना लेखाएका व्यक्ति पोजिटिभ रिपोर्ट आएपछि सम्पर्कमा नआएको फोकलपर्सन श्रेष्ठले जानकारी दिएका छन् । पोजिटिभ रिपोर्ट नआएपछि सम्पर्कबिहीन हुने क्रम चलि नै रहेको छ । त्यस्ता व्यक्तिको जनप्रतिनिधि र प्रहरीले खोजी गर्ने गरेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८१ जना डिस्चार्ज भएको जानकारी दिए ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । हाल देशभर १३ हजार १५५ सक्रिय संक्रमित रहेका छन् । ११ हजार ४१४ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत बुटवल १ की ६७ वर्षिया महिलाको दिउँसो १ बजे मृत्यु भएको छ ।

साउन ३१ गत कोभिड–१९ को संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी उनलाई स्वास प्रस्वासमा समस्या दीर्घ रोगी, रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग भएकोसमेत अस्पतालले जनाएको छ । उनलाई कोभिड–१९ विशेष अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

त्यस्तै रुपन्देहीकै समसरीमाई २ मुडुलाका ३८ वर्षका पुरुषको पनि बुटवल कोभिड विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भदौ १ गत संक्रमण पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि उनलाई सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा दिउसो १ः१० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

लुम्विनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको धागो कारखानास्थित कोभिड विशेष अस्पतालमा १६ जना संक्रमितको सघन उपचारकक्षमा उपचार भइरहेको थियो । जसमध्ये २ जना भेन्टिलेटरमा थिए । भेन्टिलेटरमा भएका दुबैको मृत्यु भएको हो । हाल लुम्विनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्पतालमा ३७ जना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये १५ जनालाई आइसीयुमा राखिएको छ । सामान्य आइसोलेसन वार्डमा २२ जना संक्रमित रहेका छन् । हालसम्म भर्ना भएकामध्ये ९२ जना कोभिड–१९ का संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन् । आइतबार दूई जना संक्रमितको मृत्यु भएसँगै अस्पतालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यसअघि कपिलवस्तुका २ जना र प्युठानका १ जनाको अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतवार १७:०४