डोल्पा । माथिल्लो डोल्पाका केही गाउँपालिकामा बहुपति र पाण्डु प्रथा अझै चल्दैछ । तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन । डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् । जेठो दाजुले विवाह गरी भित्र्याएकी दुलहीलाई सबै भाइले श्रीमति मान्ने चलन नै बहुपति प्रथा हो ।
खाद्यान्न उत्पादन कम हुने भएकाले सम्पत्ति बाँडफाँड गर्न नपरोस् भनेर परापूर्वकालदेखि नै यहाँ एक घरका दाजुभाइले एउटी महिलासँग सामूहिक विवाह गर्ने परम्परा रहेको स्थानीयहरु बताउँछन् । उनीहरुका अनुसार सबै भाइसँगै भएपछि सम्पत्ति विभाजन नहुने, दुःख र कामको भार कम हुने तथा पैतृक सम्पत्ति बाँड्न नपर्ने भएकाले यो संस्कार कायमै रहेको छ ।
स्रोत, साधन र आर्थिक अवस्थासँग डोल्पामा बहुपति संस्कृति जोडिएको बताइएको छ । ‘बाहिरी समाजले वैवाहिक संस्कारलाई प्रथाका रुपमा व्याख्या गरे पनि हाम्रो दृष्टिकोणमा यो समस्या नभई मान्यता प्राप्त सामाजिक प्रचलन हो,’ डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले भने, ‘बहुपति जोडीहरु खुलेर बोल्न र तस्बिर खिच्नसमेत तयार हुँदैनन् ।’
एउटै परिवारका सबै दाजुभाइले जेठा दाइका श्रीमतीलाई पनि आफ्नो श्रीमतीका रुपमा स्वीकार गर्नुपर्ने बाध्यात्मक सामाजिक संस्कार रहेको उनको भनाइ छ । ‘दाजुभाइको सामूहिकरुपमा एउटै श्रीमती स्वीकार नगर्नेले बुबा–आमाको पैतृक सम्पत्ति पाउँदैनन,’ भोटेले भने, ‘कतिपय अवस्थामा श्रीमानभन्दा श्रीमती दोब्बरभन्दा पनि धेरै उमेरका हुने गर्छन् ।’
वडाध्यक्ष भोटेले चेतनाको कमीले यो प्रथा अझै चलिरहेको बताए । सिमेनकी ट्याङ्गा लामाले यो चलन हट्न अझै समय लाग्ने बताइन् । उक्त विवाहित श्रीमतीले दैनिक दाजुभाईसँग पालैपालो गरेर प्रत्येक रात छुट्टाछुट्टै उनीहरूसँग सुत्नपर्ने हुन्छ । अनौठोको कुरा त, बच्चा कुन दाजु वा भाइको हो भन्ने कुरा बच्चाको आमाले पहिचान गरेर भन्नुपर्छ ।
घरको जेठो छोराले विवाह गरी ल्याएकी श्रीमतीलाई उसका भाइहरूले पनि श्रीमतीको रूपमा स्वीकार गर्ने प्रथा नै बहुपति प्रथा हो । श्रीमतीकै रूपमा स्वीकार गरे पनि उनीहरूले भाउजू भनेर सम्बोधन गर्छन् । जेठो छोराको विवाहमा अन्य भाइहरू पनि बेहुला बनेर जाने प्रचलन छ । लमजुङ, गोरखा, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पा, ताप्लेजुङ लगायतका जिल्लामा अझै पनि बहुपति प्रथा प्रचलनमा छ ।
सत्यपाटी ।