सूचनाको शक्ति - The Power Of Information

        

पार्टीभित्र खटपट

नेकपा विवाद : कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आज (शनिबार) अपरान्ह प्रतिवेदन बुझाएको छ । शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिबारै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको हो ।

साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेर बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रतिवेदनलाई पूर्णता दिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरिएको हो । प्रतिवेदनका आधारमा पार्टीभित्रको विवाद समाधान गरेर सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशनमा जाने तयारी छ ।

कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने निचोड निकालेको छ । अर्कातिर र दाहालले पार्टीको पूर्ण अधिकार लिने, मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने भएको छ । ओलीको दुवै पदबाट राजीनामा माग भएपछि टसमस नहुने देखिएपछि दाहाल नेपाल समूहले पार्टीको नीति र सहमतिअनुसार अघि बढेमा तत्काल दुवै पदबाट राजीनामा दिनु नपर्ने पक्षमा पुगिसकेको छ ।

दुई अध्यक्षले पार्टीको विवाद मिलाउन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएका थिए । ओलीले यसअघि जस्तै एकलौटी निर्णय लिन नपाउने, पार्टी एकताको काम टुंगोमा पुर्याएर महाधिवेशनको तयारीमा जाने, राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति हुनुपर्ने, असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्ने लगायत विषयमा प्रतिवेदनमा समावेश भएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १८:०२