सूचनाको शक्ति - The Power Of Information

        

लिदी पहिरो

पिठयूँमा छोरी बोकेकै अवस्थामा भेटिइन् गर्भवती

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोमा पुरिएकी एक महिलाको शव शनिबार भेटिएको छ । चार वर्षकी छोरी पिठ्यूँमा बोकिरहेको अवस्थामा ती महिलाको शव भेटिएको हो ।

सानुकान्छी दोङ र चार वर्षकी छोरी करिश्माको शव पहिरो गएको ९ दिनपछि शनिबार भेटिएको हो । मृतक महिला ४ महीनाकी गर्भवतीसमेत रहेको स्थानीयबासीले बताएका छन् ।

उनका श्रीमान् र सासू भने घरबाहिर भएकाले बाँच्न सफल भएका छन् । श्रीमान् च्याङ्वा दोङ च्याउ खोज्न गएको र सासू काममा गएकाले पहिरोबाट बँच्न सफल भएका हुन् । प्रहरीका अनुसार उनी छोरी बोकेर भाग्दै गर्दा पहिरोले थिचेको हुन सक्ने अनुमान गरिएको छ ।

पहिरो जानुअघि पहिरोको डरले लिदीका स्थानीयबासी रातको समयमा घरबाहिर बस्ने गरेका थिए । गएको साउन ३० गते बिहान गएको पहिरोमा परेर ३९ जना हराएकोमा ३२ जानको शव भेटिएको छ भने अझै ७ जना हराइरहेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १६:२१