सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

शहर डुल्दै, समुदायमै फैलिँदै कोरोना

आज बिहीबारमात्रै कोहलपुरमा १७ जानकीमा ६ नेपालगन्जमा १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि

बाँके । कोरोना संक्रमितको संख्या न्यून हुनासाथ लकडाउन खुलेर चहल पहल सुरु भएको प्रदेश नं. ५ स्थित तराईका जिल्लामा समुदायस्तरमै कोरोना फैलन थालेको छ । कोरोना जित्ने तयारीमा रहेको प्रदेश ५ को बाँकेमा एकाएक यातायात विवरण नभएकामा संक्रमण देखिन थालेपछि कोरोनाको खतरा बढेको छ ।

प्रदेश नम्बर ५ का जिल्लामध्ये बाँकेमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्र समुदायमै बसिरहेका १५० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेना, प्रहरी र अदालतका गरी दर्जनौं कर्मचारी संक्रमित भएका छन् । समुदायका संक्रमणका हिसाबले कपिलवस्तु दोस्रो स्थानमा परेको छ ।

जिल्लामा भेटिएका सबै संक्रमित समुदायमै बसिरहेका व्यक्ति हुन् । कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार र भारतबाट छिर्ने इन्ट्री प्वाइन्ट तोकिएको कृष्णनगर नगरपालिकाका समुदायमा जाँच गर्दा संक्रमित फेला परेका छन् । तौलिहवा बजारमा मात्र १०० बढी कोरोना संक्रमित फेला परेका हुन् ।

रुपन्देही जिल्लाका सबै स्थानीय तह यतिबेला कोरोना कहरमा फसेको छ । सबैभन्दा धेरै संक्रमित प्रदेश राजधानी बुटवल, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रहेका छन् । प्रदेशका तराई मधेस क्षेत्रमा ५ जिल्लामध्ये बाँके, कपिलवस्तु र रुपन्देहीमा समुदायमा कोरोना बढ्दो क्रममा रहेको छ ।

यी जिल्लाका सहरी क्षेत्रमा संक्रमित बढ्न सुरु गरेका छन् । नेपालगन्ज, बुटवल, भैरहवा, तिलोत्तमा, तौलिहवा, कृष्णनगर बजार क्षेत्रमा संक्रमण देखिएको छ । सहरी क्षेत्रमा समुदायबाट सङ्कलन गरेका स्वाब परीक्षण नतिजा पोजेटिभ देखिएका छन् । समुदायमा देखिएपनि सरकारी अधिकारी समुदायमा संक्रमण फैलिएको मान्दैनन् ।

‘अहिले देखिएको समुदायमा नभई कलस्टर लेभलमा कोरोना देखिएको हो,’ प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरी भन्छन्, ‘बैङ्क, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यापारी, शिक्षक र कर्मचारीमा कोरोना देखिएको छ । कलस्टरमा पुगेको हुँदा अब समुदायमा फैलिने खतरा रहेको छ । सरकार, प्रशासनमात्र सजग नभई अव नागरिक आफै सचेत हुनुपर्छ ।’

यता बिहीबारमात्रै बाँकेमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार बाँकेका २४ जनामा संक्रमण देखिएको हो । जसमध्ये सबैभन्दा धेरै कोहलपुरका १७ जना रहेका छन् भने जानकीका ६ जना र नेपालगन्जका १ जना रहेका छन् ।

कोहलपुरमा केहि दिनयता कोरोना संक्रमणको दर बढ्दै गएको छ । हिजोमात्रै कोहलपुरका ८ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमणको दर बढ्दै गएपछि कोहलपुर नगरपालिकाले भोली शुक्रबारसम्मका लागि कोहलपुर नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो केही दिनयता लक्षणसहितका संक्रमितहरूसमेत देखिन थालेका छन् ।

सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार संक्रमितमा लक्षण देखिन थालेको हो । उनले भने, ‘मुख्यतः संक्रमितमा ज्वरो र खोकी लागेको छ । केही संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ ।’ स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले पनि संक्रमण थप जटिल बन्दै गएको बताए ।

उनले भने, ‘लक्षणसहितका संक्रमितमा सास फेर्न अप्ठेरो भएको पनि छ । बिस्तारै यो क्रम बढ्न सक्छ ।’ लकडाउन खुलेयता लक्षणसहितका संक्रमित देखिन थालेको उनले बताए । सक्रिय संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत र सतर्क रहन फोकल पर्सन नरेश श्रेष्ठले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १६:२७