बाँके । आइसोलेसनमा पूरा समय बिताउनुपर्ने भए पनि दिन अगावै बाँकेका ५१ जना बिहीबारै डिस्चार्ज गर्न लागिएको छ । शुक्रबार हरितालिका तीज परेकोले ती संक्रमितलाई एक दिन अगावै आइसोलेसन सेन्टरबाट घर पठाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई चिकित्सकको सल्लाहमा एक दिनअघि डिस्चार्ज गर्न लागिएको उनले बताए । घरमा गएपछि उनीहरुलाई एक दिन स्वास्थ्यकर्मीले निगरानी गर्ने बताउँदै उनले एकदिन अगावै घर गएका संक्रमितले आठ दिन होम आइसोलेसनमा बस्नुपर्ने सहमति भएको बताए ।
‘घरमा गएपछि अपनाउनुपर्ने सावधानी र स्वास्थ्यकर्मीको निगरानीको व्यवस्था मिलाएर बिहीबार बेलुका डिस्चार्ज गर्न लागिएको छ,’ श्रेष्ठले भने । व्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल पनि एकदिन अगावै डिस्चार्ज हुने भएका छन् । ‘मापदण्ड अनुसार १४ दिन आइसोलेसन बस्नुपर्ने हो, तर लक्षण केही नदेखिएकाले थप ८ दिन घरकै आइसोलेसनमा बस्ने सहमतिमा डिस्चार्ज गर्न लागिएको छ,’ उनले भने ।
बाँकेका विभिन्न आइसोलेसनमा रहेका २८ जना बिहीबार बिहान डिस्चार्ज भएका थिए । बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या बिहानसम्म ४९६ पुगेको थियो । एकदिन अगावै ५१ जना डिस्चार्ज भएमा बाँकेमा कोरोनामुक्त हुनेको संख्या ५४७ पुग्ने छ । बाँकेमा ७६३ जना संक्रमित फेला परेका छन् भने हालसम्म दुई महिलासहित चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
।