सूचनाको शक्ति - The Power Of Information

        

कोरोनामा सरर…सरर…‘जहाजै चढेर’

काठमाडौं । गायक तथा संगीतकार अमृत क्षत्री पछिल्लो समय चर्चामा छन् । गीत ‘जहाजै चढेर’को सफलतासँगै उनको पनि चर्चा चुलिएको हो । गीतमा शब्द, संगीत र स्वर उनकै रहेको छ । सजिलै सबैको जिब्रोमा झुण्डिने गीत गायनमा उनको जोडी गायिका मेलिना राई बनेकी छन् । गीत शब्द, संगीत र स्वरले मात्र होइन चर्चामा रहन सफल भएको भने होइन ।

यसको पछाडीको अर्काे कारण भिडियो पनि हो । भिडियोमा फिल्म ‘साइँली’ जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री केनिपा सिंह पहारीको अभिनय समेटिएको छ । भिडियोले गीतलाई सुनमा सुगन्ध भनेझै काम गरेको छ । भिडियोले रोजगारीको सिलसिलामा बिदेश रहेका अहिले कोरोनाले स्वदेश फर्किनबाट अड्किए पछि आफ्नो प्रेमिका भेट्न नपाएर छट्पटिएका एक युवाको पीडासमेत प्रस्तुत गरेको छ ।

फिल्मी शैलीमा निर्माण भएको मर्मस्पर्शी भिडियोका निर्देशक निकेश खड्का हुन् । जुलाई २१ मा युट्युवमा अपलोड भएको यो भिडियोले अहिलेसम्म पुगनपुग ६ लाख दर्शक पाएको छ । तर पनि क्षेत्री खुसी र सन्तुष्टी छन् । गीत छिट्टै भाइरल होला भन्ने हिसावले भन्दापनि दर्शक श्रोताको मनमुटुमा बस्ला भनेर आफुले बनाएको उनले बताए । त्यो हिसाबले हेर्ने हो भने उनी केही हदसम्म सफल भएका छन् ।

‘मेरो गीत सधैं दर्शक र स्रोताको सम्झनामा होस् भन्ने लाग्छ । ‘जहाजै चढेर’ त्यहि उद्देश्यले तयार गरिएको हो,’ क्षेत्रीले भने ‘यो गीत वर्षौंसम्म पुरानो हुँदैन, बर्षौ बर्षसम्म सुनिन्छ ।’ हुन त अहिले बजारमा जति पनि गीत संगीत चर्चामा छन् । ती सबै केही समय अगाडि देखिएका गायक गायिकाका हुन् । उनीहरुले धेरै खर्च गरेर भएपनि गीत चर्चा ल्याउँछन् । पुराना तथा मुलधारका कलाकारहरु धेरै अहिले चुप बसेका छन् ।

त्यसैले पनि बजारमा दिर्घकालीन चल्ने, मानिसको मनमुटुमा बस्ने गीतको अभाव देख्न सकिन्छ । अमृतको बुझाई पनि यहि हो । त्यो अभाव हुन नदिन ‘जहाजै सरर’ गीत आफुले बनाएको अमृतले खुलाए । अमृतको गीतले युट्युव टे«डिङलगायतका अहिले चलनचल्तीको माध्यम भने पछ्याउन सकेको देखिन्न । न गीत नै टिकटकमा भाइरल भएको देख्न सकिन्छ ।

‘गीत भाइरल हुने, युट्युव ट्रेनिङ ओगट्ने हिसावले भन्दा पनि अहिले कोरोना महामारीको समय देशविदेशमा रहेका नेपाली दाजुभाई दिदी बहिनीलाई सम्झिएर उनीहरुको पीडा समेट्ने हिसावले निर्माण भएको हो,’ अमृतले गीत तयार गर्नुको कारण खुलाए । ‘गीत सदावहार होस् भन्ने मेरो चाहना पहिले देखिकै हो,’ अमृतले भन्दै थिए ‘भिडियो पनि सदाबहार बन्नुपर्छ भनेर थियटर शैलीमै निर्माण गरिएको हो ।’

गीत र भिडियो निर्माणमा सन्तुष्ट अमृत गीतले पाएको दर्शकको बिषयमा केही असन्तुष्टि राख्दछन् । भन्छन् ‘अहिले ट्युटुवमा दर्शक धेरै पाउनेलाई हिट मान्छन् । त्यो ट्रेन मेरो गीतले समाउन सकेन ।’ आफुले बुस्टलगायतका बिभिन्न खर्चिलो ट्रेन फलो नगरेका कारण पनि युट्युवमा दर्शक नओहिरिएको उनको बुझाई रहेको छ । ‘गीत जतिले हेरेका छन् । ती सबैले राम्रो प्रतिक्रिया दिएका छन् । एक जनाले पनि नराम्रो प्रतिक्रिया दिएका छैनन् । मेरो विचारमा यो नै हिट हो’ अमृत खुसी देखिए ।

अमृत गायक तथा संगीतकार मात्र सिमित छैनन् । उनी राम्रो संगीतका गुरु पनि हुन् । उनीसँग संगीत सिक्न बालकदेखि कपाल फुलेका बुढासम्म पछि लाग्ने गर्दछन् । उनीबाट संगीत प्रशिक्षण लिएका दुई बालक आयुष केसी र प्रितम आचार्यले भारतीय टेलिभिजनको गायन रियालटी शो सारेगमपामा हल्लाएका थिए । त्यसैले पनि उनको गीत संगीतबाट सांगीतिक बजारमा ठुलै अपेक्षा हुने गरेको छ ।

त्यो हिसावले पनि नयाँ गीतसंगीत ल्याउदा अमृतले प्रेसर महसुस गर्ने गर्दछन् । ‘नयाँ गीत संगीत ल्याउँदा जहिले पनि प्रेसर महसुस हुने अमृतले बताए । लामो समयपछि ‘जहाजै सरर’ ले ल्याएका उनको गीतले दर्शकको नजरमा आफ्नो घेरा बढाएको बुझाई रहेको छ । यसकारण पनि उनी यो गीतलाई आफ्नो सांगीतिक करिअरको दोस्रो टर्निङ प्वाइन्ट भन्ने गर्दछन् । क्षेत्रीका यसअगाडि ‘मग मग’, ‘मेरो निम्ति हाँसी दिने’, ‘चल्छ नेपालमा’, ‘मैले हेर्ने यौटा तारा’ लगायतका गीत हिट छन् ।

गायनसँगै संगीतकार र गीतकारको रुपमा पनि आफुलाई उभ्याउन सफल उनको बिगतका दिन गीतसंगीतमा जिकज्याक भएपनि अवका दिनमा निरन्तरता दिने सोच रहेको छ । ‘बिगतका दिनमा जुनियर आइडियल, सारेगमपा लगायतका कार्यक्रमले मेरो गीतसंगीत केही कमि भएको छ’ क्षेत्री अवका दिनको योजना राखे ‘मेलोडियस्, लोकआधुनिक र राम्राराम्रा गीतहरु संगीतिक बजारमा कमि भएको छ । त्यसको फुलफिल गर्नेछु ।’

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १५:२५