सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोनामुक्त हुनेको संख्या बढ्दै, एकैदिन ७९ जना सङ्क्रमणमुक्त

बाँके । बाँकेमा कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेहरूको सङ्ख्या बढ्दो छ । बिहीबारमात्रै ७९ जना सङ्क्रमितले कोरोनामुक्त भएर घर फर्किन लागेका छन् । कोरोनामुक्त २८ जना बिहीबार बिहानै डिस्चार्ज भएर घर गएका छन् भने तीजका कारण शुक्रबार डिस्चार्ज हुने सूचीमा रहेका ५१ जनालाई पनि बिहीबार साँझ डिस्चार्ज गरिँदैछ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार यसरी एकैदिन बाँकेबाट ७९ जना सङ्क्रमितहरू निको भएर घर फर्किने बताए । श्रेष्ठका अनुसार लक्षण नदेखिएका र शुक्रबार समय पुग्ने ५१ जना सङ्क्रमितलाई चिकित्सकको सल्लाह अनुसार स्वास्थ्यकर्मीको निगरानमा ८ दिन होम आइसोलेसनमा रहने गरी डिस्चार्ज गर्न लागिएको हो ।

बिहान डिस्चार्ज भएकाहरूमा प्रदेश ५ का सभासद कृष्णा केसी नमुना, होटल व्यवसायी लोकेन्द्र अर्याल, नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपाली, वडा नं. १३ र १८ का वडा सचिवसहित २८ जना छन् । यस्तै साँझसम्म डिस्चार्ज हुनेहरूमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल लगायत रहेका छन् ।

निको भएर घर फर्किएकी बाँके क्षेत्र नं.१ क बाट निर्वाचित प्रदेश सभासद कृष्णा केसी नमुनाले कोरोनालाई सहजरुपमा नलिन सबैसँग आग्रह गर्दै यसले निकै समस्यामा पार्न सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिएकी छन् । उनले आफूलाई लक्षणसमेत देखिएकोले शुरुमा साह्रै गाह्रो भएको स्मरण गर्दै कोरोनाबाट जोगिन सजगकता र सतर्कता अपनाउनुको विकल्प नभएको बताइन् ।

बिहीबार ७९ जना निको भएर घर फर्किने भएपछि जिल्लामा निको हुनेहरूको सङ्ख्या ५४७ पुगेको छ । जिल्लामा फेला परेका ७६३ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको छ भने हाल विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा २१२ जना उपचारको क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १४:५२