सूचनाको शक्ति - The Power Of Information

        

सुनिता दुलालको नयाँ तीज गीत ‘जुममा हेरेर’

काठमाडौं । गायिका सुनिता दुलाल नयाँ तीज गीत लिएर दर्शक तथा स्रोता माझ आएकी छिन् । ‘जुममा हेरेर’ बोलको गीतमा कोरोनाका कारण एकैठाउँमा भेला भएर तीज मनाउन नपाएको विद्यमान अवस्था समेटिएको छ ।

एकैठाउँमा भेला भएर तीज मनाउन नपाएपछि इन्टरनेटको सहारामा जुममा भेला भएर युट्युबमा गीत प्ले गरेर रमाइलो गर्नुपर्ने विद्यमान परिस्थितिलाई दुलालले गीतमा समेटेकी छिन् । परम्परागत शैलीमा भेला भएर तीज मनाउँदा कोरोना संक्रमणको जोखिम हुने भएकाले उक्त कार्य नगर्न तथा नगराउन प्रोत्साहन होस् भनेर आफूले इन्टरनेटको माध्यमबाट तीज मनाउन सन्देश दिने प्रयास गरेको गायिका दुलालले बताइन् ।

समय अनुसार ढल्न सक्नुपर्छ भन्ने उद्देश्यले आफूले सोही सन्देश प्रवाह गर्न खोजेको उनको भनाइ छ । ‘समय र परिस्थितिलाई मध्यनजर गर्दै अगाडि बढ्नुको विकल्प छैन । आफ्नो र अरुको स्वास्थ्यका लागि पनि हामी आफैं सजग हुनुपर्छ भन्ने मान्यताले यो गीत ल्याएको हुँ,’ उनले भनिन् । सुनिताको स्वर रहेको गीतमा रोजा वलीको शब्द तथा सुनिल मास्केको संगीत रहेको छ ।

कुशल श्रेष्ठको छायांकन तथा निर्देशन रहेको भिडियोमा सुनितासँगै भवानी तिमलसिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की, रिमा कणेल, दिपिका श्रेष्ठ, स्वस्तिका लोहनी, आस्तिक कणेल, दीपक थापालगायत भिडियोमा फिचर्ड छन् । सुनिता हरेक वर्ष तीज गीत सार्वजनिक गर्दै आएकी छिन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १०:३९