सूचनाको शक्ति - The Power Of Information

        

तीजको दर खाने दिन

तीज सुरु हुँदै, आज दर खाने दिन, कोरोनाको जोखिम रहेकाले घरमै मनाउनुपर्ने

व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिनुपर्ने

काठमाडौं । आज तीजको दर खाने दिन । भोलि बस्ने व्रतको अघिल्लो दिन आज खीर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दूध घिउबाट बनेका परिकार दरका रुपमा खाने परम्परा छ ।

ठाउँअनुसार कतै बेलुका अरु चीज नखाएर दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

हिन्दु धर्मशास्त्रमा उल्लेख कथाअनुसार परापूर्वकालमा पार्वतीले शिव भगवानलाई पति पाउन निराहार व्रत बसेको र कामना पूरा भएको विश्वासमा सुयोग्य पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोलि व्रत बस्ने चलन छ ।

तीजमा धेरै महिला व्रत बस्ने गरे पनि पहिलेजस्तो निराहार व्रत बस्ने चलन भने हराउँदै गएको छ । दर खानको लागि चेलीबेटीलाई माइत बोलाउने चलन भए पनि यो वर्ष कोरोना संक्रमणका कारण चेलीबेटी आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् ।

अहिले भिडभाड गर्दा कोरोनाको संक्रमण बढ्ने भएकाले भोलि पनि आफ्नै घरभित्रै रमाइलो गरेर मनाउनुपर्नेछ । यस्तै तीजका दिनमा खुल्ने काठमाण्डौको पशुपति मन्दिरलगायत पनि बन्द हुने भएका छन् । यसैबीच, व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिनुपर्ने डाक्टरले बताएका छन् ।

दर खाँदा रङ्गलगायत अखाद्य वस्तु, हालेका फोहोर गरी बनाइएका मिठाई तथा विषादी हालेका तरकारी र फलफुल नखान डाक्टरले सुझाव दिएका छन् । सकेसम्म घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन डाक्टरको सुझाव छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ०८:५९