सूचनाको शक्ति - The Power Of Information

        

धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही क्षेत्रमा भारी वर्षा हुने : मौसमविद

काठमाडौं ।  देशभरको मौसम बिहीबार सामान्य बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेकाले मौसम बदली भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका केही स्थानमा वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति पनि देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुनेछ । देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ०८:५१