सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेका १३ जनासहित देशभर थपिए ६८१ जना कोरोना संक्रमित, मृतकको संख्या १२० पुग्यो

बाँके । बाँकेको आज १३ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमध्ये कोहलपुर नगरपालिका–११ का ८ जना, नेपालगन्ज उपमहानगरपालिकाका ३ जना, राप्तीसोनारी गाउँपालिका–८ का एक जना र बैजनाथ गाउँपालिका–२ का एक जना रहेका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजले स्वाब लिएको थियो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया मधुवन नगरपालिका वडा नं. ५ र ७ का एक–एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताए । केही दिनयता कोहलपुरमा संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमित बढेको भन्दै स्थानीय पालिकाले साउन ३२ गतेदेखि लकडाउन गरिरहेको छ । लकडाउन भदौ ५ गतेसम्म जारी रहने कार्यपालिकाको निर्णय रहेको छ ।

बुधबार थपिए ६८१ जना

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर १३ हजार ५७१ जना क्वारेन्टिनमा रहेका छन् । देशभर सक्रिय संक्रमित ११ हजार ११८ छन् । बितेको २४ घण्टामा देशभर कोरोना भाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १२० पुगेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १७:४३