सूचनाको शक्ति - The Power Of Information

        

फरक क्षमता र अतिविपन्न परिवारलाई ज्ञानोदय पुस्तकायको राहत

बाँके । कोहलपुर नगर क्षेत्रभित्र रहेका फरक क्षमता र अति विपन्न परिवारलाई ज्ञानोदय सामुदायिक पुस्तकाय तथा श्रोत केन्द्र कोहलपुरले राहत उपलब्ध गराएको छ । कोइराना भाइरसका कारण पाँच महिनादेखि बन्दाबन्दी अवस्था कायम रहिरहेको अवस्थामा दुई छाक भोजनको जोहो गर्नसमेत मुस्किल भइरहका परिवारको विवरण संकलन गरेर पुस्तकालयले खाद्यान्नसहितको राहत उपलब्ध गराएको हो ।

नेपालभर रहेका सामुदायिक पुस्तकालयहरुको मातृ संस्था रिड नेपालको समन्वयमा ज्ञानोदयले नगर क्षेत्रमा रहेका अति न्यून आयसहित फरक क्षमता (अपाङ्गता) रहेका १२ परिवारलाई उपाङ्ग नवजिवन केन्द्र र स्थानीय अगुवाहरुको समन्वयमा राहत स्वरुप खाद्यान्न उपलब्ध गराइएको हो । पुस्तकालयको राहत वितरण कार्य सामाजिक कार्यको उच्चतम नमूना योग्य कार्य रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले प्रतिक्रिया दिएका छन् ।

सोमबार पुस्तकालय प्राङ्गणबाट राहत वितरण कार्यको शुभारम्भ गरेका नगरप्रमुख रावतले बन्दाबन्दीको मार सबैले खेपिरहेको अवस्थामा नगर क्षेत्रमा अतिविपन्न एवम् न्यून आय र फरक क्षमता भएका परिवारको वास्तविक विवरण संकलन गरेर राहत उपलब्ध गराएकोमा पुस्तकालयलाई धन्यवाद ज्ञापन गरेका छन् । नगर क्षेत्रमा रहेका अतिविपन्न तथा न्यून आय भएका परिवारलाई नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्वता नगर प्रमुख रावतले व्यक्त गरे ।

नगर प्रमुख रावतले कार्यक्रम शुभारम्भ गरेपछि पुस्तकालयका पदाधिकारीहरु नगर क्षेत्रका विभिन्न वडाहरुमा लक्षित परिवारको घरमै पुगेर राहतसहितको खाद्यान्न उपलब्ध गराएका छन् । वडा नं. ११ मा ३ जना फरक क्षमता भएका विपन्न परिवार, वडा नं. २ मा दुवै मृगौला निष्कृय भएर समस्याग्रस्त महिलासहित १ जना अतिविपन्न परिवार, वडा नं. १० मा अति विपन्न २, फरक क्षमता भएको १ सहित १ जना विपन्न सुत्केरी महिला लगायत वडा नं. ८ र ६ मा गरेर १२ घर परिवारलाई राहत वितरण गरिएको हो ।

उनीहरुलाई प्रतिघरपरिवार २५ केजी चामल, अढाई केजी दाल, २ केजी नुन र २ लिटर तेल सम्बन्धित वडाका जनप्रतिनिधी तथा अगुवाहरुको उपस्थितीमा पुस्तकालयले राहत उपलब्ध गराएको हो । वडा नं. १० मा राहत विवरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष निरज चलाउनेले वास्तविक विपन्न एवम् फरक क्षमता भएका परिवारको पहिचान गरेर लक्षित परिवारको घर आगनमै पुगेर राहत उपलब्ध गराउनु महान कार्य भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरिरहेको पुस्तकालयले आगामी दिनमा पनि यस्तै गतिविधीहरु सञ्चालन गर्न अनुरोध गरेका छन् । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजमा नगर क्षेत्रमा कुनै पनि परिवारले विपन्नता भएकै कारण चुलो बल्नबाट बञ्चित हुन नपरोस भने र पनि तीजको पूर्व सन्ध्यामा राहत वितरण कार्यक्रम गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १७:२६