बाँके । नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क उत्तरतर्फ रहेको प्रगति पथ टोल, जहाँ साँझ बेलुकी ५ बजे, पिपल चौतारा नजिकैको एउटा किराना पसल, जहाँ एक अवोध बालिकामाथि एक लक्का जवान युवक जाइलागे । ६ बर्षिया बालिकामाथि ३५ बर्षका एक जना युवक बलात्कारको प्रयास गरिरहेकै बेला ती बालिका हारगुहार गर्दै चिच्याइरहेकी थिइन् ।
टोलको बीचमा बन्दै गरेको एउटा घरमा दिनदहाडै बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने युवकको प्रयास र बालिकाको कारुणीक क्रन्दन र चिच्हाटले नजिकैको एउटा किराना पसलमा बसिरहेकी स्थानीय महिलाको ध्यान केन्द्रीत गर्यो । ती महिलाले अवोध बालिकामाथि लक्का जवान युवकले बलात्कार प्रयास गरिरहेको देखिन् अनि उनलाई त्यो दृष्य असह्य भयो ।
ती महिलाले अवोध बालिकामाथि भइरहेका दृष्यहरु सहन नसकेपछि घटनास्थलमै पुगेर बलात्कार प्रयास गरिरहेका ती युवकलाई रंगेहात समातिन् अनि एक चड्कन लगाइन् । उनले चड्कन लगाएपछि ३५ बर्षिय ती युवक घटनास्थलबाट कुलेलम ठोके । बालिकाका बलिन्द्र आँशु रोकिएनन् । उनै महिलाले घटनाबारे टोलका सबै महिलालाई जानकारी गराइन् ।
स्थानीयका अनुसार, नेपालगन्ज–१९ का ती युवकको पहिचान खुलेपछि महिलाहरुको टोली उनको घर पुग्यो । ती युवकका बुवा, आमा र केही छिमेकीहरुले महिलाहरुलाई घरभित्र जान नदिई आक्रमणको प्रयाससमेत गरे । स्थानीयहरुले भने यसअघि नै प्रहरीलाई घटनाबारे जानकारी गराइसकेका थिए । केहीबेरमै प्रहरी घटनास्थलमा प्रहरी पुगिसकेको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का गर्दै ती युवकलाई साँझ ७ बजेको समयमा नेपालगन्ज–१९ कै नहरपुरुवाबाट पक्राउ गरिसकेको बताइएको छ । युवकले यसअघि पनि यसै प्रकारका धेरै घटना घटाएको स्थानीयहरुको आरोप छ । वडा नं. १९ कै बिपन्न परिवारकी ति बालिका प्रगति पथको खाली ठाउँमा गाई चराउन आएको स्थानीयको भनाई छ ।
बालिकाको मेडिकल परीक्षण गराउन प्रहरीले लिएर गएको र उनको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् । यद्यपी प्रहरीले यस घटनाका विषयमा बताउन चाहेको छैन । घटनालाई मेलमिलाप गराउनका लागि दबाव सिर्जना हुन सक्ने आशंका गर्दै स्थानीयहरुले घटनाका दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन् ।
स्थानीयहरुका अनुसार ३५ बर्षिय ती युवकका आफन्तहरुले आफूहरुको राम्रै पहुँच भएको भन्दै प्रगति पथक टोलका स्थानीयहरुलाई धम्क्याइरहेका छन् । घटनाका आरोपी युवककी आमाको भनाई उदृध गर्दै स्थानीयहरुले भने, ‘प्रहरीलाई किन खबर गरेको ? हामी जे पनि गर्न सक्छौं, कसको कति पहुँच छ, भोलि थाहा हुन्छ ?’
घटनापछि प्रहरीकै अगाडी स्थानीयहरुलाई देखाइदिने भन्दै आरोपी यु्वककी आमाले धम्की दिएपछि स्थानीयहरु त्रसित बनेका छन् । स्थानीयहरुले प्रहरीकै अगाडी ती युवकका आमा तथा आफन्तहरुले धम्की दिँदासमेत प्रहरीले प्रतिक्रिया नदेखाउनुले प्रहरीले घटनालाई मिलापत्रमै टुंग्याउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘बसपार्क नजिकै रहेको विद्युत कार्यालयमा रहेको प्रहरी पोष्ट अगाडी युवकका आफन्तले धम्की दिँदासम्म प्रहरी चुइक्क बोलेन,’ एक स्थानीयले भने । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट मुद्दा फाँटका इन्चार्ज एवं प्रहरी निरिक्षक हृदेश सापकोटा आफै घटनास्थलमा खटिए पनि घटनालाई गुपचुपमै मिलाउन खोजिएको स्थानीयहरुको आरोप छ ।
यद्यपी बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरिक्षक ओमबहादुर राना, प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता सुभाष खड्का र मुद्दा फाँटका इन्चार्ज एवं प्रहरी निरिक्षक हृदेश सापकोटाको मोवाइल नम्बर क्रमशः ९८५८०५५५५५, ९८५८०२३९२२ र ९८५१०६०२८१ मा सम्पर्क गर्न खोज्दा तिनै जना सुरक्षा अधिकारी फोन सम्पर्कमा आउन चाहेनन् ।
सत्यपाटी ।