सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

आयल निगमका ३३ प्रतिशत कर्मचारी ‘ब्याकअप’

काठमाडौं । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि नेपाल आयल निगमले कर्मचारी जगेडामा (ब्याकअप) राख्न थालेको छ । आफ्ना कर्मचारीमध्ये ३३ प्रतिशतलाई ब्याकअपमा राखेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । सुरक्षाका लागि हरेक कार्यालयमा केन्द्रले अनुगमन बढाएको पनि जानकारी उनले दिए ।

तीन दिनअघि भैरहवा डिपोका ११ जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि निगमले देशभरका कार्यालयमा सतर्कता बढाएको हो । निगमले विज्ञप्ती जारी गरी भैरहवा डिपो पाँच दिनका लागि बन्द गरी पाँच दिनपछि ट्याङ्कर चालक र सहचालकको पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको छ । कोरोनाको सङ्क्रमण देखिएकालाई आइसोलेसनको व्यवस्था गरेको छ ।

भैरहवाको डिपो बन्द अवधिभर त्यस क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगन्ज डिपोबाट ढुवानी गराई भैरहवा डिपोमा स्टक ट्रान्सफर गर्ने र त्यहाँ रहेका मौजुदा कर्मचारीबाट बिक्री वितरणको व्यवस्था मिलाएको छ । पेट्रोल पम्प र हवाई इन्धन सम्बन्धी निकायसँग समन्वय गरी सात दिन बन्द गर्न भैरहवा डिपोलाई निर्देशन गरेको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए ।

कोरोना भाइरसको महामारीमा सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ प्राप्त होस् भन्ने हेतुले सरकारले तोकेको मापदण्ड अपनाई पूर्वतयारी साथ काम गरिएको निगमका प्रवक्ता उपाध्यायको भनाइ छ । कर्मचारीलाई आलोपालो कार्यालयमा खटाइएको र उनीहरूको एक लाख रुपैयाँको कोरोना बीमा गरिएको उपाध्यायले जानकारी दिए । उनका अनुसार केन्द्रमा १४७ जनाको पीसीआर जाँच गरिएको छ ।

प्रादेशिक कार्यालय अन्तरगत पोखरा, धनगढी, नेपालगन्ज, अमलेखगन्जमा पनि पीसीआर जाँच गरिएको छ । निगमका प्रवक्ता उपाध्यायका अनुसार निगमका डिपो तथा हरेक कार्यालयमा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । कर्मचारी आलोपालो गरी कार्यालय आउने गरेका छन् भने कार्यालयमा सामाजिक दूरी कायम गरिएको छ । मान्छेको आवातजावत कम गरिएको छ ।

अति आवश्यक काममा मात्रै सेवाग्राहीलाई कार्यालयमा प्रवेश दिइएको प्रवक्ता उपाध्याय उपाध्यायको भनाइ छ । भारतीय सीमामा रहेका भन्सार डिपोबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा पनि सावधानी अपनाइएको आयल निगमले जनाएको छ । अमलेखगन्जबाट काठमाडौँको थानकोटमा आउने ट्याङ्करलाई डिपो प्रवेश गर्नुपूर्व ज्वरो नाप्ने र हात धुन लगाउने गरिन्छ ।

मास्क नलगाई डिपोमा प्रवेश दिइँदैन, निर्मलीकरणका लागि निर्मलीकरण द्वारको व्यवस्था गरिएको छ, पहिलाजस्तो ट्याङ्करलाई डिपोमा धेरै समय राख्दैनौँ, देशभरका डिपोमा सोहीअनुसार सुरक्षा अपनाइएको निगमका प्रवक्ता उपाध्यायको भनाइ छ । निगमले थानकोट, भैरहवा, अमलेखगन्ज, नेपालगन्ज लगायतका डिपोमा स्प्रे टनेलको पनि व्यवस्था गरेको छ ।

तेल भर्न जाने ट्याङ्करलाई पूरा चेकजाँच गरी प्रवेश दिइएको छ । निगमका डिपोभित्र हिँडडुल गर्न कडाइ गरिएको छ । निगमका प्रवक्ता उपाध्यायले सरकारले तोकेको मापदण्ड पालना गरेर काम गरिरहेको र हालसम्म ढुवानी र बिक्री वितरणमा कुनै असहज परिस्थिति नआएको जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार ०९:५७