सूचनाको शक्ति - The Power Of Information

        

युरोपा लिगको फाइनलमा सेभिया र इन्टर भिड्ने

काठमाडौं । रोमेलु लुकाकु र लाउटारो मार्टिनेजको दुई–दुई गोलको मद्दतले इन्टर मिलानले शाख्तार डोनेस्कमाथि गोल वर्षा गर्दै युरोपा लिगको फाइनलमा स्थान पक्का गरेको छ ।

सोमबार राति भएको खेलमा इन्टर ५–० गोलअन्तरले विजयी बनेको हो । अब फाइनलमा इन्टरले स्पेनिस क्लब सेभियाको सामना गर्नेछ । सेभियाले म्यान्चेस्टर युनाइटेडलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

मार्टिनेजले खेलको १९ औँ मिनेटमा इन्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा इन्टरले गोल वर्षा गरेको थियो । डानिलो आब्रोसियाले इन्टरको दोस्रो गोल गरे भने मार्टिनेजले थप एक गोल गर्दै अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर लुकाकुले दुई गोल थप्दै जीत सुनिश्चित गरे ।

योसँगै लुकाकुले युरोपा लिगको लगातार १० औँ खेलमा गोल गर्न सफल बनेका छन् । यो सिजन उनले ३३ गोल गर्न सफल भएका छन्  सिरिए ए को उपाधि मात्र एक अंकले गुमाएको इन्टरसँग अब सन् २०११ यता पहिलो उपाधि हात पार्ने अवसर रहेको छ ।

एन्टोनियो कोन्टेको टोलीले अब उपाधिका लागि जुलेन लोपेटेगुइको टोलीसँग शुक्रबार भिड्नेछ । इन्टरले सन् २०११ मा क्लब विश्वकप र कोपा इटालिया जितेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार ०९:४६