सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाबाट मृत्यु भएका पुरुषको ईस्लामिक संस्कृति अनुसार अन्त्येष्टि गरिँदै

बाँके । कोरोनाका कारण मृत्यु भएका नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ बर्षिय मुस्लिम पुरुषको अन्त्येष्टि ईस्लामिक संस्कृति र परम्परा अनुसार गरिने भएको छ । कोरोना संक्रमित ६२ बर्षिय पुरुषको सोमवार राती ११ः४० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो ।

जडीबुटी व्यवसायी एवं समाजसेवीसमेत रहेका मृतकको अन्त्येष्टि जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको सहयोगमा ईस्लामिक संस्कृति र परम्परा अनुसार नेपालगन्ज–४ स्थित कब्रस्तानमा गरिने तयारी भैरहेको प्रदेशसभा सदस्य तथा नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले जानकारी दिए ।

सभासद अन्सारीले मुस्लिम परम्परा अनुसार स्थानीय कब्रस्तानमा दिउँसो अन्तिम संस्कार गरिने तयारी शुरु गरिएको बताए । उपचारका क्रममा अस्पतालमा मृत्यु भएका ती पुरुषको दुवै तर्फको फोक्सोमा निमोनिया देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार उनलाई ३० साउनमा लक्षण देखिएपछि परिवारका सदस्यले ३२ साउनमा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार शुरु गर्नुका साथै पिसिआर जाँचका लागि स्वाब लिइएको थियो ।

सोमवार दिउँसो ३ बजे उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज शिक्षण अस्पतालका सहनिर्देशक डा.रोमन किदवाईले मृतकलाई कोराना भएको पुष्टि भएपछि उनको अवस्था चिन्ताजनक हुँदै गएकोले प्लाज्माका लागि संक्रमणबाट निको भएकालाई रगत दिन आह्वान गरिएको बताए ।

तर कसैले पनि ए पोजेटिभ रगत नदिएपछि उनको उपचार अगाडि बढ्न नसकेको र अवस्था विग्रदै गएपछि मृत्यु भएको किदवाईले जानकारी दिए । यो सँगै कोरोनाका कारण बाँकेमा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका–५, मटेहियाका २५ बर्षिय युवा, बैजनाथ गाउँपालिकाकी ६५ बर्षिया महिला र कोहलपुर नगरपालिका–२ की ७० बर्षिया महिलाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार ०९:४४