काठमाडौं । पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका २५ जना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७६४ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मंगलबार बिहान कास्कीका ४, नवलपुरका २ र बागलुङका २ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका कास्कीका सबै पोखरा महानगरपालिकाका हुन् । संक्रमित हुनेमा पोखरा महानगरपालिकाका वडा नखुलेका वर्ष ५० र २५ का दुई महिला तथा महानगरको वडा नम्बर ६ का वर्ष २३ र २८ वर्षका २ पुरूष छन् ।
यस्तै बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका वडा नम्बर २ मा १४ वर्षीया वालिका र ३७ वर्षीया महिलामा संक्रमण देखिएको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ मा ६ वर्षीय बालक र २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
यसअघि सोमबार राति गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिएका थिए । सोमबार राति कास्कीका ११ जना, तनहुँका २ जना, नवलपुर, लमजुङ, बाग्लुङ र स्याङ्जाका एक/एक जनामा संक्रमण पुष्टि भएको थियो ।
सोमबार रातिको विवरणअनुसार बागलुङ नगरपालिकाको वडा नखुलेका २६ वर्षीय एक पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
नवलपुरको विनय त्रिवेणीको वडा नम्बर १ मा २८ वर्षीय पुरूष, लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय र स्याङ्जाको पुतलीबजार नगरपालिकामा ६० वर्षीय एक पुरुषमा संक्रमण देखिएको थियो ।
तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ का २३ र ३१ वर्षीय २ महिलामा पनि संक्रमण पुष्टि भएको छ । सोमबार राति संक्रमण पुष्टि भएका बाँकी ११ जना भने कास्कीका पोखरा महानगरपालिका हुन् ।
सत्यपाटी ।