सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहरः

कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी, नाकाहरूमा कडाइ

सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा भने आजदेखि निषेधाज्ञा जारी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा आजदेखि निषेधाज्ञा लागू भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ ।

साथै रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगमा लकडाउन हटेसँगै बजारमा हुने अत्याधिक भिडभाड, नजिकिँदै गरेका चाडबाड र समुदायस्तरमा संक्रमण पुग्न थालेपछि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने उनले बताए । कर्णाली प्रदेशको केन्द्र वीरेन्द्रनगरमा आज बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश प्रवेश गर्ने नाकाहरूमा कडाइ

जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको छ । पास बनाएर आएका व्यक्तिहरूलाई समेत पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे र कपुरकोट लगायतका सीमा नाकामा पीसीआर रिपोर्ट हेरिनेछ ।

प्रदेशभरका मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेण्ट पूर्णरूपमा बन्द गर्ने निर्णय पनि प्रदेश सरकारले यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार ०९:३१