बाँके । पछिल्लो २४ घन्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पाइएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार १२४ जना डिस्चार्ज भएका छन् । देशभर शनिबार ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसबारे बताएका हुन् ।
शनिबार देशभर ८ हजार १९३ सक्रिय संक्रमितको संख्या रहेका गौतमले जानकारी दिए । १४ हजार ४४८ जना क्वारेन्टाइनमा छन् । देशभर आइसियूमा ९८ जना छन् भने भेन्टिलेटरमा ४ जना रहेका गौतमले जनाए । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त भइसकेका छन् ।
यस्तै नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप तीन जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १–१ जना गरी थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १०२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कपिलवस्तुको मायादेवी–७ का ४० वर्षिय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षिय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो । प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमतीमा १८ जना र गण्डकीमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै प्रदेश ५ मा १३ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । ४६८ जना थप संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको हो । आज शनिबार भएका ११ हजार ४७ पीसीआर परीक्षणमा ४६८ जनामा संक्रमण देखिएको हो । आज विभिन्न अस्पतालबाट १२४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
प्रदेश १ मा एक हजार १०८, प्रदेश २ मा ३ हजार ५४५, बागमती प्रदेशमा ६४१ र गण्डकी प्रदेशमा १ हजार ५२५ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश ५ मा ४ हजार २८६, कर्णाली प्रदेशमा १ हजार ९३३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार १६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २०१ पुगेको छ । आज आइसोलेसनमा ८ हजार १९३ जना संक्रमित उपचाररत रहेका छन् ।
प्रदेश १ मा ८५४, प्रदेश नम्बर २ मा ३ हजार ८२७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २६२ जना संक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश ५ मा ७३६, कर्णाली प्रदेशमा २२५ र सुदूरपश्चिम प्रदेशमा ८१० जना आइसोलेसनमा रहेका छन् । आज ५२३ जना संक्रमित होम आइसोलेसनमा रहेको उनले बताए । आज आइसियुमा ९८ र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत छन् ।
आज क्वारेन्टिनमा १४ हजार ४४८ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ७१३, प्रदेश २ मा १ हजार ७००, बागमती प्रदेशमा १ हजार ६४ र गण्डकी प्रदेशमा २ हजार ९८३ जना रहेका छन । यस्तै प्रदेश ५ मा २ हजार ७३, कर्णाली प्रदेशमा ७६० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १५५ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताए ।
सत्यपाटी ।