सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालगन्ज मेडिकल कलेजका ५० जना स्वास्थ्यकर्मी क्वारेन्टाइन र आइसोलेसनमा

बाँके । कोरोना भारइरसका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका ५० जना स्वास्थ्यकर्मीहरू क्वारेन्टाइन र आइसोलेसनमा रहेका छन् ।

अस्पतालमा सेवा लिन आएका केही बिरामीमा कोरोना भारइरसको सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकामध्ये केहीलाई सङ्क्रमण भएर आइसोलेसनमा तथा अन्य गरेर ५० जना स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा बसेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालका सहनिर्देशक डा.रोमन किदवाईले अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू एकै पटक आइसोलेसन र क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित भएको बताए ।

उनले सङ्क्रमित बिरामीको सम्पर्कमा आएर अस्पतालका तीन चिकित्सक र तीन स्वास्थ्यकर्मी गरेर छ जना सङ्क्रमित भई आइसोलेसनमा रहेको जनाउँदै सङ्क्रमित बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अस्पतालका विभिन्न विभागका अन्य ४४ जना चिकित्सक र स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा रहेको बताए ।

अस्पतालका सहनिर्देशक किदवाईका अनुसार पछिल्लो समयमा आएर समुदायमा सङ्क्रमण फैलिए पनि बिरामीलाई निरन्तर सेवा प्रदान गर्दैआएकोले चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । उनले हाल आएर ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएपछि बिरामीलाई सेवा दिन समस्या भइरहेको बताए ।

ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मीहरू आइसोलेसन र क्वारेन्टाइनमा बसे पनि आलोपालो गरेर अस्पतालका सबै सेवालाई सुचारु राखिएको अस्पतालले जनाएको छ । उनले हालसम्म उपचारका लागि अस्पतालमा पुगेका कुनै पनि बिरामीलाई फिर्ता नगरिएको बताए । उनले कोरानाको लक्षण देखिएका बिरामीलाई समेत स्वास्थ्य सेवा दिँदै आएकोले नै धेरैजना स्वास्थ्यकर्मीहरू आइसोलेसन र क्वारेन्टाइनमा बस्नुपरेको जनाए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार ०९:१५