सूचनाको शक्ति - The Power Of Information

        

अपराध

प्रहरीको ध्यान ‘डाइभर्ट’ गर्न नेपालगन्जमा नक्कली बम आतंक, कालो झोलाभित्र ‘कपडा’

बाँके । दुई दिनअघि नेपालगन्जस्थित त्रिवेणी मोडमा बेवारिसे सुटकेस भेटियो । प्रहरीले नेपालली सेनाको बम डिष्पोजल टोलीलाई तत्काल खरब गर्यो । नेपाली सेनाको डिष्पोजल टोली घटनास्थल पुगेर सो क्षेत्र नियन्त्रणमा लियो । सेनाको टोलीले उक्त सुटकेस पहिचान गर्दै जाँदा बम नभएको निष्कर्षसहित सुटकेसमा कपडा रहेको तथ्य सार्वजनीक भयो ।

कोरोना संक्रमणले आम नागरिकहरु सन्त्रासमा बसिरहेका बेला त्रिवेणी मोडको उक्त बेवारिसे सुटकेसले थप त्रसित बनायो । त्यसको दुई दिन बित्न नपाउँदै उस्तै घटना दोहोरियो । नेपालगन्ज–४ गणेशपुरस्थित प्रदेश मन्त्रीको घर बाहिरको पर्खालमा बेवारिसे कालो झोलाले नेपालगन्जबासीलाई थप त्रसित बनायो ।

कोरोनाले आतंकित बनेका नागरिकहरु नक्कली बम आतंकले थप त्रसित बनेका छन् । प्रहरी स्रोतका अनुसार अवैध धन्दा गर्नेहरुले प्रहरीको ध्यान ‘डाइभर्ट’ गर्न नक्कली बम आतंक फैलाइरहेका छन् । ‘कानुन विपरितका काममा संलग्नहरुले प्रहरीलाई ‘डिस्टर्व’ गर्ने गरी नक्कली बम आतंक फैलाइरहेका छन् । यसमा आम नागरिकहरु त्रसित हुनुपर्दैन,’ स्रोतले भन्यो ।

नेपालगन्जस्थित त्रिवेणी मोडमा दुई दिनअघिको बेवारिसे सुटकेस र आज शुक्रबारको नक्कली बम आतंकको घटना एकै किसिमको थियो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको नेपालगन्ज–४ गणेशपुरस्थित घरको पर्खालमा कालो झोला राखिएको थियो । तर, कालो झोलाभित्र महिला र पुरुषले लगाउने कपडाहरु मात्रै भेटिएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले उक्त घर र आसपासको क्षेत्र नियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो झोलाभित्र कपडाहरु मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बताए । उनले भने, ‘घटना सामान्य भएको र झोलामा कपडामात्रै थिए, आम नागरिकले त्रसित हुनुपर्ने कुनै कारण छैन ।’

उनले नेपागन्जबासीलाई झोला राखेर नक्कली बम भन्दै आतंकित बनाउनेको पहिचान गरेर कारबाही गर्ने बताए । विश्वभर कोरोना महामारी चलिरहेकै बेला उनले लेखेझैं बाँकेमा नक्कली बम आतंकले सुरक्षा संयन्त्रलाई दुख दिएर अवैध तस्करी गर्नेहरुलाई कारबाही गर्नुपर्ने नेपालगन्जबासीहरु बताउँछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार २३:०२