सूचनाको शक्ति - The Power Of Information

        

अपराध

नेपालगन्जमा नक्कली बम आंतक, प्रहरी उदासिन

बाँके । पत्रकार कमल न्यौपानेले फेसबुक पेजमा लेखेको स्टाटस लेख्दै भनेका छन्, ‘आखिर कसले गराउँदैछ नेपालगन्जबासीलाई आतंकित ? पछिल्ला दुई दिनमा दुई वटा नक्कली बम आंतक । स्थानीय प्रशासन किन बन्दैछ उदासिन ?’

कालो झोलाले तनावमा रहेका कर्णालीका सामाजिक विकास मन्त्री दल रावलको समेत फोन उठेको छैन । एक घण्टासम्मको प्रयासमा पनि मन्त्रीसँगै रहेका बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरिक्षक ओमबहादुर रानासमेत टेलिफोन सम्पकमा आउन चाहेका छैनन् ।

विश्वभर कोरोना महामारी चलिरहेकै बेला उनले लेखेझैं बाँकेमा नक्कली बम आतंक सुरु भएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावतको नेपालगन्ज–४ गणेशपुरस्थित घर अगाडी शंकास्पद झोला राखिएको छ ।

नेपालगन्ज–४ गणेशपुरस्थित निवासको पर्खालमा शंकास्पद झोलाभित्र के राखिएको छ भन्नेबारे खुलेको छैन । यसले स्थानीयहरु त्रसित छन् । तर, बाँके प्रहरीले भने नक्कली बम आतंक फैलाउनेहरुको पहिचान गर्न सकेको छैन ।

वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक हरिबहादुर बस्नेतका अनुसार मन्त्री रावतको घर आसपासको क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ । उनले कालो झोला शंकास्पद देखिएपछि नेपाली सेनालाई खबर गरिएको जानकारी दिए ।

यसअघि पनि नेपालगन्जस्थित त्रिवेणीमोडमा बेवारिसे सुटकेस नेपाली सेनाले नियन्त्रणमा लिएर चेकजाँच गर्दा सुटकेसभित्र कपडा राखिएको पाइएको थियो । बाँकेमा नक्कली बम आंतक फैलिरहेका बेला स्थानीय प्रशासन भने मौन देखिएको छ ।

नक्कली बम आतंकले नेपालगन्जबासी त्रसित बनेका छन् । प्रहरीले भने कोरोनाको बहानामा नक्कली बम आतंकलाई बेवास्ता गरिरहेको स्थानीयहरु बताउँछन् । दुई दिनको अन्तरालमा दुई वटा नक्कली बम आतंक हुँदा पनि प्रहरीले बेवास्ता गर्नु शान्ति सुरक्षामा प्रश्न उब्जिएको बताइरहेका छन् ।

नक्कली बम आतंकका विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख ओमबहादुर राना र प्रवक्तासमेत रहेका प्रहरी नायव उपरिक्षक सुभाष खड्काको मोवाइल नम्बरमा सम्पर्क गर्न खोज्दा दुवैको फोन उठिरहेको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार २२:००