सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकार

जिल्लामै सार्वजनिक सुनुवाई गर्ने हिमा पहिलो, बजेट कार्यान्वयन प्रभावकारी

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा पहिलो आर्थिक वर्ष २०७६/०७७ को बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम हिमा गाउँपालिकाले गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका बीच पनि यहाँको हिमा गाउँपालिकाले बजेट कार्यान्वयन प्रभावकारी रुपमा गरेको पाइएको छ । गाउँपालिकाले १० करोडको लागतमा ८४ वटा योजना निर्माण गरी सम्पन्न गरेको छ ।

सशर्त अनुदान, समानीकरण अनुदान र राजश्व बाडफाँडको ८ करोड १२ लाख ९० हजार खर्च अर्थात् ८७ प्रतिशत पुँजीगत प्रगति भएको छ । विषयगत कार्यालयबाहेक आर्थिक वर्ष २०७६/०७७ मा पालिकाभर करिब १० करोड लागतका ८४ वटा साना ठुला योजना सम्पन्न भएका हुन् ।

गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि र पशु लगायतका कार्यालयबाहेक १० करोड बराबरका ८४ योजना सम्पन्न भएको प्रमुख प्रशासकीय अधिृकत टोपबहादुर बुढाले बताए । वार्षिक सार्वजानिक सुनुवाई कार्यक्रममा प्रगति विवरणअनुसार गत आवमा २६ करोड ९० लाख १२ हजार ३०० विनियोजन बजेटमध्ये २४ करोड ३६ लाख ७४ हजार खर्च भएको छ ।

सशर्त अनुदानको ८१ लाख १२ हजार ५०० र सञ्चित कोषको १ करोड ७२ लाख २५ हजार ७०० गरी २ करोड ५३ लाख ३८ हजार बजेट फिर्ता गएको छ । विद्यालय भवन, सडकको स्तरोन्नति, गोरेटो बाटो, खानेपानी धारा, सिचाइँ कुलो, खेल मैदान निर्माण, मठमन्दिर निर्माण लगायत ६७ वटा योजना ६ करोड ८६ लाख २० हजार ३३८ रुपैयाँमा सम्पन्न भएका छन् ।

प्रशासकीय अधिकृत बुढाका अनुसार प्रदेश सांसद विकास कोषको ६० लाख लागतमा तीन वटा योजना सम्पन्न भएका छन् । भने, मुख्यमन्त्री रोजगार कार्यक्रमको १ करोड ८० लाख ३ हजारमा ६ वटा योजना निर्माण भई हस्तान्तरणसमेत गरिएको छ । साथै ३२ लाख ९ हजारको लागतमा प्रथामिक स्वास्थ्य चौकी कुडु गाउँसम्म सडक निर्माण गरिएको छ ।

प्रगती प्रतिवेदन अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको ४२ लाख ९ हजार लागतमा ७ वटा योजना सम्पन्न भईसकेका छन् । विषयगत कार्यालय बाहेक गाउँकार्यपालिकाले छनौट गरी हिमा गाउँपालिकाका १ देखि ७ नम्बर वडासम्म जम्मा ९ करोड २८ लाख ४१ हजार ७०० को लागतमा ८४ योजना निर्माण भएका हुन् ।

त्यस्तै विषयगत कार्यालय अन्तरगत स्वास्थ्यतर्फ ११ वटा विभिन्न कार्यक्रम गरी २ करोड ७८ लाख ४ हजार खर्च भएको छ भने शिक्षातर्फ १९ वटा आबश्यकतामा आधारित कार्यक्रम गरेर ९४ लाख १६ हजार २१२ रुपैया खर्च भएको छ । साथै महिला तथा बालबालिका, सामाजिक सुरक्षा, पशु, लगायतका क्षेत्रमा पनि लाखौंको बजे खर्च गरी कार्यक्रम सम्पन्न भइसकेका छन् ।

कोभिड व्यवस्थापनमा १ करोड बढी खर्च

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हिमाले १ करोड २२ लाख ५ हजार ७०७ रुपैयाँ खर्च गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बुढाका अनुसार कोभिडलाई रोकथाम गर्न, बाहिरबाट आएका नागरिकलाई व्यवस्थापनदेखि क्वारेन्टिन निर्माण तथा अन्य खर्चमा १ करोड २२ लाख बढी खर्च भएको छ ।

‘अन्य स्थानीय तहभन्दा राहत तथा उद्दारको कार्यसमेत प्रभावकारी भएको छ भने बाहिरबाट आउने हिमाका हरेक नागरिकलाई निशुल्क घरसम्म ल्याएर क्वारेन्टिनमा राखेका थियौं,’ प्रमुख प्रशासकीय अधिकृत बुढाले भने । औषधी खरिदमा ५ लाख ३६ हजार ३००, यातायात खर्च (हिमाका नागरिकलाई निशुल्क ल्याएवापत) १७ लाख ३४ हजार ६२ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै लत्ता कपडा खरिदमा १४ लाख २१ हजार ३००, राहतका लागि चामल खरिदमा ३६ लाख ६० हजार, नुन खरिदमा ५ लाख ६९ हजार, माक्स खरिदमा ४ लाख ५१ हजार लगायत क्वारेन्टिनमा खान खर्च, क्वारेन्टिन व्यवस्थापनमा गरी १ करोड २२ लाख बढी बजेट कोडिभ व्यवस्थापनमा खर्च भएको पनि प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिए ।

अध्यक्ष रजबहादुर शाहीले नागरिकका गुनासा सम्बोधन गर्दै अबको बाँकी कार्यकालमा जनमुखी कार्यलाई जोड दिइने बताए । काम गर्ने प्रक्रियामा केहि कमजोरी भए पनि प्रतिपक्ष तथा सरोकारवालाको सुझावलाई कार्यान्वयन गरी सुधार गरिने उल्लेख गरे । नेपाली काँग्रेसका युवा नेता लक्ष्मण शाहीले हिमा सरकारलाई अझै सच्चिएर अघि बढ्न सुझाव दिए ।

उनले योजना बाँडफाँडदेखि हरेक कुरामा दुई तिहाईको दम्भ देखाएको भन्दै कार्यशैली सुधार व्यक्तिवाद र स्वार्थभन्दा जनतामुखी हुनसमेत ध्यानाकर्षण गराए । कार्यक्रममा बोल्ने तथा गुनासा राख्ने व्यक्तिले हिमा सरकारलाई सफल बनाउन खर्चमा मितव्ययिता र पारदर्शीतामा ध्यान दिन सुझाव दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार ११:१५