सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार बलराम बानियाँ मृत फेला

काठमाडौं । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । दुई दिनदेखि बेपत्ता रहेका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् आयोजना क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । तनहुँ घर भएका बानियाँ कान्तिपुर दैनिकको सहायक सम्पादक पदमा कार्यरत रहेका थिए ।

समाचारमा जनाइएअनुसार उनी सोमवार (साउन २६ मा) दिउँसो बल्खुबाट सम्पर्कविहीन भएका थिए । सोमबार ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाइड्रोपावरको फिल्टरमा फेला परेको हो । परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा बनियाँ बेपत्ता भएको हुनाले ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका छन् । उनको जुत्ता हिलोमा अड्किएको अवस्थामा बल्खुमा नै भेटिएको थियो ।

उनलाई बल्खु खोलामा खसेको देखेका स्थानीयले तत्काल उद्धारको पहल पनि गरेका थिए । त्यतिबेला बल्खु खोलामा खसेका व्यक्तिको पहिचान हुन सकेको थिएन । बुधवार शव भेटिएपछि सनाखत भएको हो । महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले बानियाँ शव फेला परेको पुष्टि गर्दै भने, ‘उहाँको शवलाई अहिले हेटौँडा अस्पतालमा लगिएको छ ।’ घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १५:१७