कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष ६०० भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन । विदेशी पर्यटक कोरोना सङ्क्रमण शुरु हुनुअघि नेपाल आएका हुन् । कोरोना सङ्क्रमण शुरु भएपछि गत चैतदेखि गड्डाचौकी नाका भएर विदेशी पर्यटक आएका छैनन् ।
गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २०२० को जनवरीदेखि मार्चसम्म ६१८ विदेशी पर्यटक नेपाल आएका छन । यस अवधिमा ५१७ जना गड्डाचौकी नाका भएर फर्किएका छन । तीन महिनामा सबैभन्दा बढी पर्यटक फेब्रुअरीमा आएको कार्यालयको तथ्याङ्कमा छ । फेब्रुअरीमा २४९ विदेशी पर्यटक आएका छन् ।
यसैगरी जनवरीमा २२४ र मार्चमा १४५ जना आएका छन् । यस्तै गड्डाचौकी नाकाबाट जनवरीमा सबैभन्दा बढी विदेशी पर्यटक फर्किएका छन । जनवरीमा २०२ पर्यटक फर्किएका छन । यसैगरी फेब्रुअरीमा १९० र मार्चमा १२५ जना आएका छन । गड्डाचौकी नाका भएर सन २०१९ को तुलनामा यो अवधिमा तेब्बर बढी पर्यटक आएका थिए ।
त्यही हाराहारीमा नाका भएर फर्किएका थिए । सन २०१९ को जनवरीदेखि अगस्टसम्म एक हजार ८६३ विदेशी पर्यटक नेपाल आएकोमा एक हजार ५८० जना गड्डाचौकी नाका भएर फर्किएका थिए । अध्यागमन कार्यालयका सूचना अधिकारी शैलेन्द्र बडूले कोरोना सङ्क्रमण फैलिएपछि विदेशी पर्यटक आउन बन्द भएको बताए ।
‘कोरोना सङ्क्रमण फैलिनु अघिसम्म पर्यटक आइरहेका थिए । सङ्क्रमण फैलिएर नाका बन्द भएपछि पर्यटक आउन पूर्णरूपमा बन्द भयो,’ उनले भने । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि गड्डाचौकी नाका बन्द गरिएको थियो । भीमदत्त नगरपालिकाले त्यसको एक दिनअघि नै नाका बन्द गराएको थियो ।
कोरोना सङ्क्रमण सकिएर नाका नखुल्दासम्म गड्डाचौकी नाका भएर पर्यटक आउने कुनै सम्भावना नरहेको सूचना अधिकारी बडूले बताए । पर्यटक आउन छाडेपछि यस वर्ष अध्यागनले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सक्ने अवस्था छैन । सन २०१९ मा गड्डाचौकी नाका भएर दुई हजार ३३४ विदेशी पर्यटक नेपाल आएका थिए । दुई हजार २९२ पर्यटक नाका भएर फर्किएका थिए ।
सत्यपाटी ।