सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा

विद्यालय बन्द, टोलटोलमा पढाई, बालबालिका खुसी

बझाङ । गाउँ नजिकैको विद्यालयमा क्वारेन्टिन बनाएको छ । कोरना महामारीको रोकथाम र नियन्त्रणका लागि बाहिरबाट आएका मान्छेहरु विद्यालयकै क्वारेन्टिनमा राखिन्छ । कोरोना महामारीले देश लकडाउन भएपछि सबै क्षेत्र प्रभावित भएजस्तै शिक्षा क्षेत्र पनि प्रभावित भएर बालबालिकाको पढाइ ठप्प छ ।

छविसपाथीभेरा गाउँपालिका–३ गैरीगाँउ घर भएका कक्षा ३ मा अध्धयनरत सुरत जोशीले फागुन महिनामा परिक्षा दिएसँगै उनको पठनपाठन बन्द थियो । उनको परिक्षाफल पनि पनि आएको छैन । कोरनाका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएपछि प्रारम्भीक तह पढाई कार्यक्रम परियोजनाले गाउँबस्ती र टोलटोलमा पढाई सुरु गरेपछि बालबालिका खुसी छन् ।

झण्डै सात वर्षदेखि जिल्लामा बालबालिकाको शिक्षा अवस्था सुधारका लागी काम गर्दै आएको प्रारम्भीक तह पढाई कार्यक्रम परियोजनाले बालबालिकालाई भेला गरी पढाईलाई निरन्तरता दिन थालेको छ । लकडाउनको समयमा विद्यार्थीहरु गाउँघरमा खेतीपातीको काम गर्ने र गाईभैसी चराउँदै दिन बिताउने गरेका थिए ।

तल्कोट गाउँपालिका–६ भगवती प्राविका शिक्षक प्रेम विष्टले साइपाल विकास समाज अन्तरगत लागु भएको ईजिआर परियोजनाले टोलटोलमा पढाइ सुचारु गरेपछि विद्यार्थीमा पढ्ने बानीको विकास भएको बताए । उनीजस्तै अर्का शिक्षक शिव बिष्टले परियोजनाले टोलमा पढाइ सुचारु गरेपछि विद्यार्थीलाई पढ्ने बानीको विकास हुनका साथै ज्ञान सिक्न पाएको बताए ।

विद्यालयहरु पनि बन्द र शिक्षकहरुले पनि विद्यार्थीहरुको पढाइको चासो र चिन्ता नगरेको समयमा परियोजनाले टोल शिक्षा कार्यक्रम सुरु गरी विद्यार्थीमा पढ्ने बानीको विकास भएको कार्यक्रमका जिल्ला संयोजक कृष्णराज रेग्मीले जानकारी दिए । उनले भने, ‘विगतदेखि नै बालबालिकाको पढाई सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाले लकडाउनको समयमा पनि उनीहरुको पढाईलाई मध्यनजर गरि टोल शिक्षा कार्यक्रम सुरु गरेको हो ।’

कक्षा १ देखि ५ सम्म पढ्ने बालबच्चाहरु टोलटोलमा जम्मा गरेर हप्ताको एकदिन संस्थाका पढाई उत्प्रेरक कर्मचारीहरुले बालबालिकालाई पढाईलेखाइका साथै ज्ञानगुनका कुरा सिकाउँदै आएका छन् । टोल शिक्षामा जिल्लाभर २०० बालबालिका सहभागी भएको कार्यक्रमका जिल्ला संयोजक रेग्मीले जानकारी दिए ।

‘बैशाख र जेठमा कथा वाचन, सुनाइ बोध, पढाई बोधका साथै अन्य शैक्षिक गतिविधि गरेर बालबालिकालाई शैक्षिक ज्ञान दियौं,’ पढाई उत्प्रेरक माधुरी जोशीले भनिन्, ‘अहिले विद्यालयमा पुस्तक आएपछि पाठ्यक्रम अनुसार पढाउने गरेका छौं ।’ टोल शिक्षा सुरुवात गरेपछि अहिले तल्कोट र साइपाल गाउँपालिकामा शिक्षकहरु पनि कार्यक्रममा सहभागी भएर विषयगत ज्ञान दिने गरेका छन् ।

जिल्लामा कक्षा १ देखि ९ सम्मका सबै विद्यालयमा विद्यार्थीहरुको परिक्षा लिएको भए पनि हालसम्म कुनै विद्यालयले नतिजा प्रकाशन गरेका छैनन् । सुरुमा जिल्लाका २०० विद्यालयमा क्वारेन्टिन बनाएको भए पनि अझै ५७ विद्यालयमा क्वारेन्टिन रहेका छन् । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा शिक्षाका लागि खाद्य कार्यक्रम लागु भएका २८७ विद्यालयका शैक्षिक सुधारका लागि विभिन्न गतिविधि गर्दै आएको परियोजनाले हाल जिल्लाका ३७ वटा टोलबस्तीमा टोल शिक्षा कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ०९:३१