सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति निर्वाचन

सिनेटर कमला ह्यारिस बनिन् ‘रनिङ्ग मेट’ अर्थात् उपराष्ट्रपति उम्मेदवार

वासिङ्गटन । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले उपराष्ट्रपतिका लागि सिनेटर कमला ह्यारिसलाई चुनेका छन् । लामो प्रक्रिया र विभिन्न चरणमा नेतृहरुसँग गरिएको अन्तर्वार्तापछि बाइडेनले ह्यारिसलाई चुनेका हुन् ।

कुनै समय राष्ट्रपति उम्मेदवार बन्नका लागि आफूलाई चुनौति दिएकी सिनेटर ह्यारिसलाई ‘रनिङ्ग मेट’ अर्थात उपराष्ट्रपति उम्मेदवार बनाउने घोषणा गरेका हुन् । उपराष्ट्रपति उम्मेदवार बन्ने उनी पहिलो अश्वेत र एसियन अमेरिकन हुन् । इन्डियन–जमैकन वंशज रहेकी ह्यारिस क्यालिफोर्नियाकी सिनेटर हुन् ।

डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार बन्न चाहने धेरै नेताहरुमध्ये सुरुमा ह्यारिसलाई शीर्ष दाबेदारका रुपमा हेरिएको थियो । तर पछि उनको प्रदर्शन खासै राम्रो हुन सकेन र पछि हटी बाइडेनलाई समर्थन गरिन् । बाइडेनले डिबेटको क्रममा उपराष्ट्रपतिमा महिलालाई नै स्थान दिने घोषणा अनुसार बाइडेनले शीर्ष डेमोक्र्याट महिला नेतृसँग अन्तर्वार्ता गरे ।

सुरु देखि नै उपराष्ट्रपतिको दाबेदारमा अग्रस्थानमा रहेकी ह्यारिसलाई बाइडेनले ‘रनिङ्ग मेट’ चयन गरेका हुन् । प्रहरीको ज्यादतीका कारण अश्वेत अमेरिकी जर्ज फ्लोइडको निधनपछि देशभर भएको रंगभेद विरोधी आन्दोलनपछि बाइडेनलाई अश्वेत महिलालाई उपराष्ट्रपति उम्मेदवार चयन गर्न दबाब थियो ।

डेमोक्र्याटिक पार्टीका लागि र बाइडेनका लागि अश्वेत तथा हिस्पेनिस अमेरिकन बलियो मताधार हुन् । बाइडेन–ह्यारिसले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको सामना गर्नेछन् । ट्रम्पले भने ह्यारिसलाई ‘माइ नम्बर वान ड्राफ्ट पिक’ भनेर परिभाषित गरेका छन् ।

ह्यारिसले ट्रम्पका रनिङ्ग–मेट उपराष्ट्रपति माइक पेन्ससँग उटाको सल्ट लेकमा आउँदो अक्टोबर ७ मा डिबेट गर्ने छिन् । अमेरिकाको इतिहासमा यसअघि मात्रै दुईपटक महिला नेतृलाई राष्ट्रपतिका उम्मेदवारले आफ्नो ‘रनिङ्ग मेट’का रुपमा चयन गरेका छन् । तर उनीहरु दुवै चुनावमा विजयी हुन सकेनन् ।

सन् २००८ मा रिपब्लिकनबाट सारा पालिन र सन् १९८४ मा डेमोक्र्याटिक पार्टीबाट गेराल्डिन फेरारोलाई उपराष्ट्रपति उम्मेदवार बनाइएको थियो । अश्वेत वर्गबाट अहिलेसम्म अमेरिकामा कुनै पनि महिलाले राष्ट्रपतिको उम्मेदवार जितेका छैनन् । यस्तै अहिलेसम्म अमेरिकाले महिला राष्ट्रपति पनि पाएको छैन र महिला उपराष्ट्रपति पनि पाएको छैन ।

जो बाइडेन विजयी भएमा ह्यारिस अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो महिला र पहिलो अश्वेत तथा एसियन अमेरिकन महिला हुनेछिन् । बाइडेनले ट्वीट गरेर ह्यारिसलाई उपराष्ट्रपति उम्मेदवारका रुपमा चयन गर्न पाउनु आफ्ना लागि ठूलो सम्मानको कुरा रहेको बताएका छन् । ह्यारिस निडर योद्धा र देशको उकृष्ट सेवक रहेको बाइडेनले बताएका छन् ।

ह्यारिसले आफ्नो दिवंगत छोरा बो बाइडेनसँग नजिकमा रहेर काम गरेको पनि बाइडेनले स्मरण गरेका छन् । त्यसपछि ह्यारिसले ट्वीट गरी भनेकी छन्, ‘जो बाइडेनले अमेरिकी नागरिकलाई एकतामा बाँध्न सक्नुहुन्छ, किनकी उहाँले आफ्नो सम्पूर्ण जीवन हाम्रा लागि समर्पित गर्नुभएको छ ।’

राष्ट्रपतिका रुपमा बाइडेनले अमेरिकालाई अमेरिकीको सिद्धान्तमा उभ्याउने ह्यारिसले बताएकी छन् । ५५ वर्षकी कमला ह्यारिस गएको डिसेम्बरमा राष्ट्रपति उम्मेदवार बन्ने होडबाट बाहिरिएकी थिइन् । उनी आप्रवासी अभिभावककी सन्तान हुन् । उनका पिता जमैकामा जन्मिएका हुन् भने आमा भारतमा जन्मिएकी हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ०७:३९