काठमाडौं । गत जेठ १० गते रुकुम पश्चिममा भएको एक हत्या काण्डमा मारिएकाहरुको परिवारलाई सरकारले जनही १० लाखका दरले राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राहत दिने निर्णय गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
एक गैरदलित युवतिलाई बिहेका लागि लिन गएको दलित युवक र उसका साथीमाथि कुटपिट हुँदा ६ जनाको हत्या भएको थियो । सो काण्डमा जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका–११ का गोविन्द शाहीको हत्या भएको थियो ।
जाजरकोटका नवराज विक आफ्ना साथीहरुसहित रुकुमकी मल्ल थरकी युवतिलाई बेहका लागि लिन गएका थिए । सो समूहमाथि रुकुममा कुटपिट भएको थियो । संसदीय छानबिन समितिलेसमेत सो काण्ड जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेको थियो । यो काण्डका २३ जना अभियुक्तहरु पूर्पक्षका लागि थुनामा छन् ।
सत्यपाटी ।