बाँके । नेपालगन्जमा निर्मित सोल्टी होटलको व्यापार प्रवर्द्धनका लागि पुस १३ गते पूर्वराजा ज्ञानेन्द्र शाहसँगै नेपालगन्ज आएकी पूर्व युवराज्ञी तथा उनकी बुहारी हिमानी परिवारका अन्य सदस्यसँगै राजधानी फर्किएकी छिन् ।
श्री एयरको बिहानको उडानबाट हिमानी परिवारका साथ राजधानी फर्किएकी छन् । हिमानीले मंगलबार परिवारका सदस्यका साथ नेपालगन्जको बागेश्वरी मन्दिरको दर्शन गर्नुका साथै पूजापाठ गरेकी थिइन् । हिमानी राजधानी फर्केलगत्तै पूर्वराजा भने नेपालगन्जबाट सडकमार्ग हुँदै धनगढी प्रस्थान गरेका छन् ।
एक सातासम्म सपरिवार नेपालगन्जमा बसेका पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतमा रहेका आफ्ना नातेदारसहित नेपालगन्जका उद्योगी तथा होटल व्यवसायीहरुसँग भेटघाट गर्नुका साथै अंग्रेजी नयाँ वर्ष पनि सँगै मनाएका थिए । सडकमार्ग हुँदै मंगलबार बर्दियाको गुलरिया पुगेका उनले त्यहाँको बंगलामुखी मन्दिरको दर्शन गर्नुका साथै पूजापाठ गरेका थिए ।
नेपालगन्ज र बर्दियामा आफ्ना शुभेच्छुकबाट भव्य स्वागत पाएका ज्ञानेन्द्र आज धनगढी जान लागेका हुन् । धनगढीमा उनले उत्तरबेहडीस्थित शिवपुरी धाम तथा १०८ फिट अग्लो उत्तररामेश्वरम् ज्योतिर्लिङ्गको दर्शन गर्ने कार्यक्रम छ । उनको स्वागतका लागि धनगढीमा राजावादीहरूले कैंया चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मुल स्वागत समिति गठन गरेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पूर्वराजा ज्ञानेन्द्रको कैलाली भ्रमणको तालिका भने अझै बनिनसकेको बताए । एक साताको नेपालगन्ज बसाइमा उनले सोल्टी होटलको व्यापार प्रवर्द्धनका लागि बाक्लो भेटघाट गरेका थिए । होटेलमा पुगेका शुभेच्छुकसहित पाहुनासँग समेत सहज ढंगले कुराकानी गर्दै उनले सामूहिक र सेल्फी फोटोसमेत खिचाएर मन जित्ने प्रयास गरेका थिए ।
।