काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले हालै जनता समाजवादी पार्टी नेपालले जारी गरेको विज्ञप्तिप्रति कडा आपत्ति जनाएका छन्।
प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको थापाले उल्लेख गरेका छन्। २५ साउनमा जारी जसपाको विज्ञप्तिमा ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ।
वर्तमान सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्रसहित पहिचान र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रूपमा चित्रण गर्ने कार्य गरेर देशभित्र विभाजनको विऊ रोप्ने कार्य गर्दैछ’ भनेर लेखिएको थियो। प्रेस सल्लाहकार थापामा यसैमा आपत्ति जनाएका हुन्।
‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोंचको दिवालियापन नै हो’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
राजनीतिमा हुने विवाद, मतभेद र असहमतिलाई स्वाभाविक नै मानिने भएपनि त्यसै आधारमा यसस्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? भन्दै थापाले प्रश्न गरेका छन्। उनले शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुनु अनिवार्य रहेको उल्लेख गरेका छन्।
‘जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको छ’, थापाले थप लेखेका छन्, ‘तसर्थः जसपाको औपचारिक विज्ञप्तिमा प्रधानमन्त्रीप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु।’
उनले सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा आँखा चिम्लेर अँध्यारो देख्ने र उज्यालोको भत्सर्नामा जुट्ने पनि उल्लेख गरेका छन्। ‘जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलोज गरिएको सन्दर्भ हो, यो कुनै नौलो कुरा होइन।
आफ्नो निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत ६ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ’, थापा लेख्छन्, ‘त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन्।
अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ।’
।