सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

प्रदेश ५ मा बाँकेका मात्रै ५२ प्रतिशत संक्रमित, वडा प्रहरी कार्यालय बन्यो ‘आइसोलेशन’

बाँके । बाँके जिल्लामा कोरोनाको संक्रमण तीब्ररुपमा फैलिदै गएको छ । हिजोमात्रै बाँकेमा थप ४८ जनामा कोरोनाको संक्रमण देखियो । पछिल्ला ४ दिनमा बाँकेमा मात्रै १४५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश ५ का १२ वटै जिल्लामा कोरोनाको संक्रमणदेखि पनि सबैभन्दा बढी नयाँ कोरोना संक्रमण बाकेमा देखिएको छ ।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार प्रदेश ५ का १२ जिल्लामा कुल ४२६ जना संक्रमित छन् । तीमध्ये २२२ जना बाँकेका छन् । बाँकेपछि दोस्रो धेरै ९७ जना संक्रमित कपिलबस्तुमा छन् भने तेस्रो धेरै संक्रमित बर्दियामा ३२ जना छन् । अन्य जिल्लाहरुमा ३० भन्दा कम संक्रमित छन् । सबैभन्दा कम संक्रमित अर्घाखाँचीमा दुई जनामात्रै छन् । कोरोनाको संक्रमितबाट प्रदेश ५ मा हालसम्म १४ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी ३ जना मृत्यु हुने जिल्लामा बाँके, गुल्मी र अर्घाखाँचीका छन् । समुदायस्तरमा संक्रमण फैलिएपछि नेपालगन्जको शहरी क्षेत्र हिजोदेखि ३ दिनका लागि सिल गरिएको छ भने साउन १८ गतेदेखि लगाइएको निषेधाज्ञालाई थप तीन दिन बढाएर २७ गतेसम्म पुराइएको छ । बाँकेमा हालसम्म सबैभन्दा बढी ३६ जना वडा प्रहरी कार्यालय नेपालगन्ज र बाँकेमा कार्यरत प्रहरी कर्मचारी रहेका छन् ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षकदेखि सिपाहीसम्म संक्रमित भएपछि वडा प्रहरी कार्यालय नेपालगन्जलाई सिल गरेर आइसोलेशनमा परिणत गरिएको छ । त्यस्तै आन्तरिक राजस्व कार्यालयमा १२ जना जिल्ला अदालत बाँकेमा ७, कारागार, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा ५, नेपाली सेनाको कौशिला नगर ब्यारेकमा ९, कारागार शाखा बाँकेका ६ जना कैदीबन्दीमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी नेपालगन्ज उप महानगरपालिकाका २३ वटा वडामध्ये १९ वटा वडामा संक्रमण देखिएको छ । बाँकेमा आजसम्म ६२१ जना संक्रमितको पहिचान भएको छ । पहिचान भएका संक्रमितमध्ये २२२ को उपचार भइरहेको छ । ४११ जना निको भएर घर फर्किसकेका छन् । यो अवधिमा कोरोना संक्रमणको ग्राफ घट्नुको उच्चरुपमा उकालो चढिरहेको छ । कोरोना समुदायस्तरमै फैलिसकेको छ ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई निकै कडाई गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए । तर, संक्रमण दर दैनिकरुपमा बढिरहेको छ । समुदायस्तरमै कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब संकलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अतिजोखिमयुक्त क्षेत्र सिल गरिएको प्रजिअ कुरुम्वाङ्गले बताए ।

सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शववाहनबाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिँड्डुलमा समेत रोक लगाइएको उनले जानकारी दिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार स्थानीय प्रशासनले नेपालगन्जको गणेशमान चोक, चार बाहिनी क्षेत्र, बाँकेगाउँ, रिङरोड, नहरपुर्वा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्रमा नेपाली सेनासहित ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १७:०६