बाँके । बाँकेमा लगाइएको निषेधाज्ञाको आज आठौं दिन । यहाँ आइतबारदेखि निषेधाज्ञा जारी छ । गत आइतबार तीन दिनका लागि लगाइएको निषेधाज्ञा भोली मंगलबारसम्म थपेर नौं दिन पुर्याइएको छ । यस अवधिमा कोरोना संक्रमितको संख्या झनै बढिरहेको छ ।
कोरोना समुदायस्तरमै फैलिसकेको छ । तर, यहीबेला संक्रमित देखिएका व्यक्तिहरु समुदायमै लुकेर बसेपछि संक्रमणको खतरा झनै बढेको छ । कोरोना हटस्पट बनेको नेपालगन्जमा कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु समुदायमै लुकेर बसेकाले उच्च जोखिम देखिएको छ ।
गत २२ गते वडा प्रहरी कार्यालयमा स्वाब संकलन गरेर परिक्षणका क्रममा पोजेटिभ नतिजा आएका ८ जना र २५ गते पोजेजिभ नतिजा आएका ६ जना गरी १४ जना संक्रमित सम्पर्कमा नआउँदा समुदायमा कोरोना संक्रमणको अवस्था झनै भयावह हुने खतरा बढेको छ ।
तीमध्ये एकजना सरकारी अधिकृत रहेको र बाँकी ‘पहुँचवाला’ रहेको बताइएको छ । उनीहरु सबैले मोबाइल अफ गरेर बसेकाले आइशोलेसनमा राख्न सकिएको छैन । उनीहरुको खोजीमा स्वास्थ्यकर्मी परिचालित गरिए पनि भेट्टाउन नसेकपछि प्रहरीसमेत परिचालित भएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले यो संकटको बेलामा सबैको सहयोग भएमात्र सामना गर्न सकिने भएकोले पोजेटिभ नतिजा आएकालाई आइशोलेशनमा आइदिन आग्रह गरेका छन् ।
उनले केही संक्रमितहरु आफ्नो नतिजा पोजेटिभ आउनेवित्तिकै लुकेर बसेकाले समुदाय नै संक्रमणको जोखिममा रहेको भन्दै संक्रमितहरु आइसोलेशन नबस्दा अरुलाई संक्रमण हुने र लुकेर बस्दा स्वास्थ्य अवस्था पनि जटिल भए पनि उपचार पाउन कठिन हुने बताएका छन् ।
जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई निकै कडाई गरिरहेको छ । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि स्वाब संकलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अतिजोखिमयुक्त क्षेत्र सिल गरिएको छ ।
सत्यपाटी ।