सूचनाको शक्ति - The Power Of Information

        

अपराध

राजधानीमा विभत्स हत्या, टाउको र खुट्टा ४०० मिटर टाढा भेटियो

काठमाडौं । राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर शव राखिएको अवस्थामा आइतबार बिहान फेला परेको सुटकेश र जेब्रा झोला राखिएको ठाउँ सिसिटिभीको फ्रेमभन्दा बाहिर रहेको पाइएको छ । सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो ।

त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ । सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा शव थियो । टाउको र खुट्टा भने सुटकेश राखिएको स्थानभन्दा करिब चार सय मिटर टाढा भेटिएको थियो ।

मान्छेलाई अन्य ठाउँमा मारेर सुटकेश र जेब्रामा हाली त्यहाँ ल्याएर राखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । ‘उपत्यकाभित्र नै हत्या गरिएको हुन सक्ने सम्भावना छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने । उक्त शव अन्दाजी ४५ वर्षका पुरुषको भएको प्रहरीले जनाएको छ । ती व्यक्तिको सनाखत हुन सकेको छैन ।

‘मृतकको सनाखत भएमा अनुसन्धानमा धेरै सजिलो हुन्छ’, उनले भने । काठमाडौँ प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहानै देखि घटनाको प्राविधिक पक्षको अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार आसपासमा सिसिटिभीमा शनिबार रातीदेखि कैद भएका फुटेजहरु प्रहरीले हेरिरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतवार १२:५६