सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

निषेधाज्ञा थपिँदै, कोरोना संक्रमित बढ्दै, आज २२ जनामा संक्रमण पुष्टि

बाँके । बाँकेमा लगाइएको निषेधाज्ञाको आज सातौं दिन । यहाँ आइतबारदेखि निषेधाज्ञा जारी छ । आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि लगाइएको निषेधाज्ञा आगामी मंगलबारसम्म थपेर नौं दिन पुर्याइएको छ । यो अवधिमा कोरोना संक्रमितको संख्या बढ्नुको साटो उच्च संख्यामा बढिरहेको छ ।

निषेधाज्ञाको आज सातौं दिन आज भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २२ मध्ये २० जना बाँकेका रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा ३०० वटा नमुना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आजमात्रै बाँकेमा कोहलपुरका चार जना र नेपालगन्जका १६ जनामा कोरोना संक्रमण देखिएको छ भने बर्दियाका बाँसगढी नगरपालिकाका एक जना र गुलरिया नगरपालिकाका एक जना संक्रमित थपिएका छन् । शुक्रबार मात्रै बाँकेमा ४९ जना संक्रमित थपिएका थिए । निषेधाज्ञा जारी गर्दा पनि बाँकेमा दैनिक ठूलो संख्यामा संक्रमित फेला परिरहेका छन् ।

आज फेला परेका संक्रमितहरुमा नेपालगन्ज–६ निवासी ३ बर्षकी बालिका, नेपालगन्ज–१७ निवासी ४ बर्षिका बालक र ५ बर्षकी बालिकामा समेत संक्रमण देखिएको छ । त्यस्तै नेपालगन्ज–१९ निवासी ११ बर्षकी बालिका र नेपालगन्ज–१६ निवासी ११ बर्षकी बालिकामा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै समय बढाइरहेको छ । बाँकेमा तेस्रो पटक निषेधाज्ञा तीन दिन बढाइएको छ । गत शनिबारदेखि तीन दिनका लागि लागेको निषेधाज्ञा दोस्रो पटक चार दिन बढाएर शनिबारसम्म पुर्याइएको थियो । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप तीन दिन थपेर मंगलबारसम्म बढाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार १६:५३