सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

सञ्चालनको तयारीमा देशकै पहिलो खुला कारागार

बाँके । बाँकेको गनापुरमा देशकै पहिलो खुला कारागार निर्माण भएको छ । कारागार व्यवस्था विभागले गनापुरस्थित कृषि फार्मको छ बिघा जमिनमा पहिलो पटक खुला कारागार निर्माण गरेको हो । कम सजाय हुने मुद्दामा कारागार चलान भएका तुलनात्मक रुपमा आचरण ठिक भएका कैदी बन्दीलाई खुला कारागारमा राखिनेछ ।

खुला कारागार सञ्चालनका लागि तयारी भइरहेको छ । खुला कारागारमा बस्ने कैदी बन्दी साँझ तोकिएको समयभित्र कारागारमा प्रवेश गरेर रातभरि कारगारमै बस्नुपर्नेछ । बिहान कारागार प्रशासनबाट अनुमति लिएर कारगारभन्दा बाहिर गएर काम गर्न, परिवारका सदस्यलाई भेट्न र जागिर गर्न सक्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । बाँकेको नेपालगन्जमा विसं.२००० सालमा निर्माण भएको एउटामात्रै कारगार छ ।

५० जना महिला र २५० जना पुरुष गरी ३०० क्षमताको कारागार भवनमा अहिले ७९० जना कैदीबन्दी छन् । क्षमताभन्दा दोब्बर बढी कैदी बन्दीलाई राखिएका कारण कारागारमा राखिएका कैदी बन्दीहरुले आधारभूत सुविधासमेत पाउन सकेका छैनन् । यस्तो अवस्थामा निर्माण भएको खुला कारागार अन्य कारागारभन्दा व्यवस्थित र सुविधा सम्पन्न छ । गनापुरमा निर्माण भएको खुला कारगारको निर्माण करिब पौने २ करोडको लागतमा निर्माण भएको हो ।

खुला कारागार परिसरमा निर्माण भएका २ वटा बन्दी गृहमा ४ वटा भान्सा घरसहित ३६ वटा कोठा भएको कारागार शाखा बाँकेका प्रमुख देबेन्द्र श्रेष्ठले बताए । निर्माण कार्य अन्तिम चरणमा पुगेको खुला कारागारमा विद्युत् जडान गरेर पानीको व्यवस्था हुँदा साथ कैदी बन्दीलाई राख्न सकिनेछ । कारागार परिसरमा ब्याडमिन्टन कोर्टसमेत निर्माण गरिएको छ । ३२ वटा कोठा भएकाले एउटा कोठामा २ जना कैदीबन्दी गरी ६४ जना कैदीबन्दीलाई राख्न सकिनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार १२:२२