सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

पहिलो पटक नेपालगन्जको ठूलो क्षेत्र ‘शील’ गरिँदै

बाँके । समुदायस्तरैमै तीव्ररुपमा कोरोना संक्रमितको संख्या बढेको छ । शुक्रबारमात्रै एकै पटक ४९ जनामा कोरोना संक्रमण देखिएपछि पहिलो पटक नेपालगन्जको ठूलो क्षेत्र शील गरिँदैछ । समुदायस्तरमै तीव्ररुपमा कोरोना संक्रमित फेला पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आज शनिवार राती १२ बजेदेखि लागु हुने गरी नेपालगन्जको ठूलो क्षेत्र शील गर्दैछ ।

सुर्खेत रोडलाई बाहिर पार्ने गरी पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकदेखि चारवाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँदेखि रिङरोड फुल्टेक्रास्थित आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म, नहरपुर्वा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला क्षेत्रलाई आजराती १२ बजेदेखि मंगलवार राती १२ बजेसम्म सील गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

यो क्षेत्रमा आज शनिवारराती १२ बजेपछि स्वास्थ्य, सुरक्षाकर्मी, एम्वुलेन्स, शव बाहन र दमकल बाहेकका सवारी साधन, पसल, व्यवसाय र हिँडड्लमा प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनको निर्णय बर्खिलाप गर्ने, अवहेलना गर्ने वा कामकाजमा बाधा पु¥याउनलेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले चेतावनी दिएका छन् ।

स्थानीय प्रशासनले बाँकेमा आगामी मंगलवारसम्म निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन स्थानीय प्रशासनले सबै नागरिकहरुलाई घरमै बस्न आग्रह गरेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या साढे पाँच सय नजिक पुगेको छ । जनप्रतिनिधी, सरकारी कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, व्यापारी, बैंकका कर्मचारीदेखि पत्रकारसमेत संक्रमित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेसँगै बढाइएको कोरोना भाइरस परीक्षणका क्रममा बाँकेमा संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारी कार्यालय, जनप्रतिनिधि, बैंक तथा वित्तिय क्षेत्रमा कार्यरत कर्मचारी, होटल सञ्चालक, पत्रकार लगायतमा संक्रमणको दर उच्च देखिएपछि उच्च जोखिम बढेको छ । कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिएको हो ।

बाँकेका सरकारी अधिकारी, स्वास्थ्यकर्मी, नागरिक अगुवा, पत्रकार लगायतले जोखिमपूर्ण अवस्थामा घरभित्र बस्न र जथाभावी हिँडड्ल नर्गन, अन्य स्वास्थ्य सुरक्षामा लापरवाही नगर्न भन्दै नेपालगन्जको अवस्था भयानक र दुखदायी हुनसक्ने चेतावनी दिँदै आएका छन् । जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार ०८:२८