सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

स्वाब संकलन गर्ने भिटिएम अभाव

बाँके । कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) बाँकेमा अभाव भएको छ । स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम उपलब्ध गराउन नसक्दा स्थानीय तहले आफैँ खरिद गरी स्वाब संकलनका लागि दिने गरेका छन् ।

स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम नदिएपछि आफैँ खरिद गरी स्वाब संकलन गरेको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । उनले २०० थान भिटिएम माग गरे पनि स्वास्थ्य कार्यालयले ८० थानमात्र दिएको बताए । उपमहानगरपालिकाले वडाध्यक्षसहित आठ जना कर्मचारीको परिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करिब २०० जनाको स्वाब सङ्कलनका लागि मङ्गलबार स्वास्थ्य कार्यालयसँग माग गरेको थियो ।

‘स्वाब दिनका लागि वडाध्यक्षका परिवारका सदस्य र सम्पर्कमा रहेका ब्यक्तिलाई कार्यालयमा बोलाएका थियौँ, तर भिटिएम अपुग भयो । पछि उपमहानगरले आफैं खरिद गरि स्वाब संकलन ग¥यौँ,’ चन्दले भने । उनले स्वास्थ्य कार्यालयले नदिएपछि १२० थान भिटिएम आफैँले खरिद गरेको बताए । जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका परिवार गरि १९८ जनाको स्वाब संकलन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अंगदबहादुर शाहीले पनि बाँकेमा भिटिएम अभाव भएको बताए । उनले कार्यालयमा भिटिएम नभएका कारण माग अनुसार दिन नसकेको बताए । दैनिक १५० भिटिएम आवश्यक पर्ने बताउँदै उनले प्रदेश सरकारले २० साउनमा ३०० थान भिटिएम पठाएको बताए । छदैँ छैन भनेर भन्न त मिल्दैन, तर पर्याप्त संख्यामा भिटिएम छैन,’ उनले भने ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार ०७:४४