सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना ‘हटस्पट’ बाँके, १० दिनमा सात वटा सरकारी कार्यालय ‘शील’

बाँके । नेपालगन्जमा पहिलो पटक सरकारी कार्यालयमा साउन १२ गते कोरोना संक्रमण देखियो । पहिलो पटक नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय बाँकेका एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता १० दिनको अवधिमा सात वटा सरकारी कार्यालय कोरोना संक्रमण देखिएपछि शील गरिएका छन् ।

यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज कारागार, वडा प्रहरी कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकीय कामबाहेक अनिश्चितकालका लागि शील गरिसकिएको छ ।

कहिँकतै ‘ट्राभल हिष्ट्री’ नभएका तर, सेवाग्राहीको अध्याधिक चाप हुने कार्यालयहरुमा देखिएको कोरोना संक्रमणले समुदायस्तरमै प्रवेश गरिसकेको छ । पछिल्लो समय बाँकेका सरकारी कार्यालयमा संक्रमितको संख्या बढ्दो छ । बाँकेको खजुरामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गर्दा पनि सरकारी कार्यालयमै संक्रमणको दर उच्च देखिएसँगै सरकारी संयन्त्र पनि संक्रमणको उच्च जोखिममा देखिएको छ । सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेपछि कार्यालयका अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएका छन् ।

बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगन्जको अवस्था भयानक दुखदायी हुनसक्ने चेतावनीसमेत दिँदै आएका छन् । कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ ।

पछिल्लो समयमा बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै सतर्क रहन सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले आग्रह गरिरहेका छन् । बाँकेमा समुदायस्तमै कोरोना संक्रमण बढ्न थालेपछि आइतबारदेखि शनिबारसम्म ‘निषेधाज्ञा’ नै जारी गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले ‘निषेधाज्ञा’ जारी राखेको हो ।

कोरोनास्तरमै कोरोना पोजेटिभ केश बढ्दै गएपछि ‘निषेधाज्ञा’ जारी गर्नुपरेको बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए । जिल्लामा कोरोना संक्रमण फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘निषेधाज्ञा’ जारी गर्नुपरेको कुरुम्बाङको भनाइ छ । ‘निषेधाज्ञा’ अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर आवतजावत नगर्न प्रशासनले आग्रह गरेको छ ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द छन् ।बैंक र वित्तिय संस्थाहरुको हकमा भने एटिएम बाहेक अन्य सबै सेवा बन्द गरिएको प्रजिअ कुरुम्बाङले बताए । ‘स्थिति जटिलतर्फ बढ्दै गएको छ । त्यसैले पनि ‘निषेधाज्ञा’ जारी गर्नुपरेको हो,’ प्रजिअ कुरुम्वाङले भने । कोरोना नियन्त्रण भइसकेको बाँकेमा लकडाउन खुलेपछि भने पुनः संक्रमण फैलिदै गएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार ०९:४६