सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमण बढ्न थालेपछि लम्बियो ‘निषेधाज्ञा’

बाँके । बाँकेमा समुदायस्तमै कोरोना संक्रमण बढ्न थालेपछि आइतबारदेखि जारी गरिएको ‘निषेधाज्ञा’ लम्ब्याइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आज बसेको बैठकले शनिबार राती १२ बजेसम्म ‘निषेधाज्ञा’ जारी राख्ने निर्णय गरेको छ ।

कोरोनास्तरमै कोरोना पोजेटिभ केश बढ्दै गएपछि ‘निषेधाज्ञा’ जारी राख्ने निर्णय भएको बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए । लगातार कोरोना संक्रमित बढ्न थालेपछि ‘निषेधाज्ञा’ लम्ब्याइउने निर्णय गरिएको प्रजिअ कुरुम्बाङले बताए ।

जिल्लामा कोरोना संक्रमण फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘निषेधाज्ञा’ थप गर्ने निर्णय भएको कुरुम्बाङको भनाइ छ । ‘निषेधाज्ञा’ अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर आवतजावत नगर्न प्रशासनले आग्रह गरेको छ ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द हुनेछन् । बैंक र वित्तिय संस्थाहरुको हकमा भने एटिएम बाहेक अन्य सबै सेवा बन्द गरिएको प्रजिअ कुरुम्बाङले बताए ।

‘स्थिति जटिलतर्फ बढ्दै गएको छ । त्यसैले पनि ‘निषेधाज्ञा’ थप्नुपर्ने देखियो,’ प्रजिअ कुरुम्वाङले भने । कोरोना नियन्त्रण भइसकेको बाँकेमा लकडाउन खुलेपछि भने पुनः संक्रमण फैलिदै गएको छ । पछिल्लो समय सरकारी कार्यालय र नागरिकको स्वास्थ्य परीक्षणमा तीव्रता दिएसँगै बाँकेमा संक्रमितको संख्या बढ्दो छ ।

तर, उचित र मापदण्डअनुसारका आइसोलेसन र क्वारेन्टिन पर्याप्त नहुँदा संक्रमण देखिएका र बाहिरबाट आएका ब्यक्तिलाई सुरक्षितरुपमा ब्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् । यसअघि बनाइएका क्वारेन्टिन र आइसोलेसनहरु सम्बन्धित पालिकाले हटाइसकेको छ ।

अहिले कोरोना संक्रमणको जोखिम बढेपछि जनस्वास्थ्यको निर्देशनमा बाँकेका स्थानीय तहहरुले पुनः क्वारेन्टिन निर्माण गर्न थालेका छन् । खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक बढेको छ । फोकल पर्सन श्रेष्ठअनुसार आइसोलेशनको क्षमता कम भएकाले संक्रमित विरामी कहाँ कसरी ब्यवस्थापन गर्ने अहिले समस्या देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेसँगै बढाइएको कोरोना भाइरस परीक्षणका क्रममा बाँकेमा संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारी कार्यालयमै संक्रमणको दर उच्च देखिएसँगै सरकारी संयन्त्र पनि संक्रमणको उच्च जोखिममा देखिएको छ । सरकारी कार्यालयमा संक्रमण देखिएसँगै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएका छन् ।

कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । पछिल्लो समयमा बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै सतर्क रहन सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १४:४२