सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली राजमार्गमा यात्रुलाई सास्ती र जोखिम

कालिकोट । कर्णाली राजमार्गको आवतजावत पुनः सञ्चालन हुन सकेको छैन । निर्वाध पहिरो जाने घटनाले यात्रुलाई यात्रा गर्न निकै सास्ती र जोखिम छ । कर्णाली राजमार्गको कालिकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौँडा, टिमुरे भीड, खल्लागाड, धनडा, राँचुली भीग्म लगायतका दर्जनौँ स्थानमा पहिरो गएपछि करिब एक सातादेखि राजमार्ग अवरुद्ध भएको थियो ।

कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिराले सडक अवरुद्ध भएपछि यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए । ‘कालेखोला, दहीखोला लगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छ’, प्रहरी नायब उपरीक्षक ओलियाले भने, ‘आज पिली सडकको पहिरो हटाउने काम भइरहको छ । आजका दिनसम्म सडक खुल्छ होल ।’

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले कालीकोटको टाकुल्ला खोलादेखि जुम्लासम्मको सडकखण्ड सञ्चालन भएको बताए । बाढीपहिरोले सडक बन्द भएपछि पाँच दिन लगाएर पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बोलाएको समीक्षामा सहभागी हुन नसकिएको जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुखद्वय बालकराम देवकोटा र गोविन्द महतले बताए ।

‘मन्त्रालयले कर्णालीका १० जिल्लाका कृषि तथा पशु कार्यालयका प्रमुखलाई यही साउन १५–१७ सम्मको वार्षिक प्रगति समीक्षामा बोलाएको थियो’, कृषि विकास कार्यालयका प्रमुख देवकोटाले भने, ‘१३ साउनमा हिँड्दा १७ गतेसम्म कालिकोट सडकखण्डमा आएको बाढी र पहिराको अवरोधमा परियो ।’ यता भेटेनरी तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले समीक्षामा सहभागी हुनेभन्दा जीवन जोगाएर बल्लतल्ल घर फर्कन सफल भइएको बताए ।

जिल्ला वन कार्यालय मुगु तथा जुम्लाका जिल्ला वन अधिकृतद्वय भरत बुढ्थापा र दिनेश खत्रीले जीवनमा पहिलोपटक चार दिन लगाएर कष्टकर यात्रा गर्नुपरेको दुःखेसो गरे । कर्णाली राजमार्गको स्तरवृद्धि नगरे एवं पुल निर्माणमा तदारुकता नदिएसम्म यहाँका नागरिकले बर्सेनि यही समस्या भोग्नुपर्ने उनीहरूको भनाइ थियो । जुम्लाका उद्योगी महेन्द्र थापाले राज्यको नेतृत्व गर्नेको कमजोरीका कारण कर्णालीवासी प्राकृतिक विपद्को सिकार हुनुपरेको बताए । वैकल्पिक मार्ग निर्माण नभएसम्म यो समस्या सजिलै नटर्ने उद्योगी थापाले जनाए ।

व्यवसायी भानु देवकोटाले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्याबाट कर्णालीवासी कहिले मुक्त हुने हो भन्ने प्रश्न गरे । मुलुक संघीयतामा गइसकेपछि पनि कर्णालीका नागरिकको दुःख टर्न नसकेको व्यवसायी देवकोटाले गुनासो गरे । खाँडाचक्र नगरपालिका–६ कालिकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटकपटक दुःख भोग्नुपरेको गुनासो गरे । चार दिनसम्म सडक अवरुद्धमा पर्दा ७० हजारको तरकारी कुहिएर गएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार ०८:०२