काठमाडौं । हाँस्यकलाकार कमल गाउँलेले समसामयिक विषयमा केन्द्रित रही बनाइएको ‘के–के हुने हो ?’ गाईजात्राको भिडियो सार्वजनिक भएको छ । उनको बिसौं गाईजात्रा प्रस्तुतिको रुपमा ल्याइएको भिडियोमा नेपालको राजनीति तथा समाजमा मौलाएको विकृति, विसंगति तथा बेथितिलाई चित्रण गरिएको छ । उनले गत वर्ष ‘गाउँ–गाउँमा सिंहदरबार’ मार्फत राजनीतिक तथा सामाजिक विकृति तथा विसंगतिमाथि व्यंग्य प्रहार गरेका थिए ।
यस वर्ष पनि उनले नेपालको राजनीतिक बेथिति तथा अन्योलतामाथि व्यंग्य कसेका छन् । गाउँलेले कोरोना कहरको बेला औषधि उपकरण खरिदमा भएको भ्रष्टाचारको विषयलाई समेत उप्काउँदै सरकारले जनतालाई ढाँटेको भन्दै विरोध गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी शक्ति संघर्षलाई केलाउँदै चोटिलो व्यंग्य गर्दै नेतालाई जनताको काम गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘फलाम गल्ला, इँटा ढुंगा गल्ला, लेखेर राख्नुस् कुकरमा हालेर सय सिटी लगाउँदा पनि केपी ओली गल्नेवाला छैनन्, ढल्नेवाला छैनन् ।’ उनले नेपालको नयाँ नक्सा जारी गरेकोमा ओलीलाई धन्यवाद दिएका छन् । उनले भारतसामु नेताहरु निरीह बनेकोमा आक्रोश पोखेका छन् । भारतले सीमा मिच्दा र भ्रष्टाचार अचाक्ली बढ्दा पनि नेतृत्व तहमा रहेकाले आँखा चिम्लिएको भन्दै उनले त्यसले जनतालाई धोकाबाहेक केही नहुने जिकिर गरेका छन् । उनले भनेका छन्,
‘भारतले सीमा मिच्यो, यता ह्वीस्की बियर घिच्यो महँगी र भ्रष्टाचारले गरिबको घाँटी थिच्यो ।’
त्यस्तै, उनले एमसिसी पास गरिए नेपाल नै नरहने भन्दै चिन्ता व्यक्त गरेका छन् । अमेरिकी सहयोग नियोग एमसिसीको विरोध गर्दै कलाकार कमलले भनेका छन्, ‘भारतले खाएर बच्या देश एमसिसी आएपछि जाने भो ।’ एमसिसी नेपालको हितमा नभएको भन्दै उनले सरकारले यसमा विशेष ध्यान दिनुपर्ने जिकिर गरेका छन् । उनले भनेका छन्, ‘अब त टाउको चाइनाको, छाती भारतको, पुच्छर नेपालको भो ! मेरो देशको सिमाना कहाँसम्म हो भनेर कल्लाई सोध्न जाने हो ? कोही नेता चाइनाको, कोही नेता भारतको, कोही नेता अमेरिकाको भो । यही भएर एमसिसी आ’को हो ।’
गाउँलेले आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको गाईजात्रे प्रस्तुतिमा कोरोना संक्रमण र यसको कहरले आपजत बनेका जनतालाई सरकारले आहत दिएको बताएका छन् । उनले यस्तो संकटको बेला औषधि उपकरण खरिदमा भएको भ्रष्टाचारको विषयलाई पनि भिडियोमा समेटेका छन् । दाङ मसिना घर भएका गाउँलेले सयौं नेपाली गीत, हास्य टेलिसिरियल र चलचित्रमा अभिनय गरेका छन् । यसअघि उनले अभिनय गरेको ‘गर्नु ग¥यौ बलराम भैंसी पालेर’ गीतले निकै चर्चा बटुलेको थियो ।
उनले २० वर्षदेखि लगातार गाईजात्रा प्रस्तुति दिँदै आएका छन् । कलाकार गाउँलेले गाईजात्रा नेपालीको साझा पर्व भएको बताउँदै भने, ‘यसमा गरिएको व्यंग्यबाट सम्बन्धित व्यक्ति वा निकायले पाठ सिकेर सुध्रिउन् भन्ने उद्देश्यले म निरन्तर लागिरहेको छु ।’ गाईजात्राले समाजमा भाइचारा सम्बन्ध स्थापित गर्ने र विकृति विसंगतिमाथि प्रहार गर्ने भएकाले यसको महत्व पछिल्लो समय अझै बढेर गएको जिकिर गरे । उनले भने, ‘समाजमा बढ्दै गरेको विकृत मानसिकताविरुद्ध गाईजात्रा व्यंग्य कस्न एक चोटिलो माध्यम हो ।’ उनी मादल र सारंगी वाद्यनमा समेत दक्ष छन् ।
सत्यपाटी ।