सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुग्यो, आरडीटी परीक्षण हटाइयो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै एकैदिन ३१ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको बताएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर निको हुने कोरोना संक्रमितको संख्या १४ हजार ६०३ पुगेको छ । पछिल्लो २४ घण्टामा १११ डिस्चार्ज भएसँगै देशभर हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । त्यस्तै आइतबार ८ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको भने देशभर हाल १० हजार ९३४ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैबीच, चौतर्फी विरोधपछि सरकारले आरडीटी परीक्षण हटाएको छ । आरडीटी परीक्षण हटाएसँगै सरकारले, प्रदेश र स्थानीय सरकारलाई आरडीटी रोक्न निर्देशनसमेत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले १४ गतेको निर्णयअनुसार आरडीटी रद्द गरिएको बताए ।

उनले प्रदेश र स्थानीय सरकारलाई आरडीटी नगर्न निर्देशनसमेत दिए । उनले भने, ‘साउन १४ गतेको निर्णयअनुसार आरडीटी प्रयोग नगर्न सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पताललाई जानकारी गराइएको छ ।’ सरकारले नेपालमा कोरोना संक्रमण भित्रिएसँगै आरडीटी परीक्षण थाले पनि त्यसको चौतर्फी विरोध भएपछि सरकार आरडीटी परीक्षण हटाउन बाध्य भएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतवार १६:५०