सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

नरैनापुरमा क्वारेन्टाइन भत्ता विवाद चुलियो

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापनको नाममा ब्यक्ति विशेषलाई २१ लाख ३५ हजार रुपैयाँ भत्ता दिएपछि स्थानीयस्तरमा उत्पन्न विवाद चुलिएको छ । अवैध तरिकाले २१ लाख ३५ हजार भत्ता वितरण गरेपछि विवाद चुलिएको हो । भत्ताको चौतर्फी विरोध भइरहँदा स्थानीय बासिन्दासमेत रहेका पत्रकार विनय दीक्षितले गाउँपालिकाबाट भत्ता र सोसँग सम्बन्धित विषयमा सूचना माँग गरेका छन् ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र नेपालको संविधान २०७२ को धारा २७ बमोजिम प्रमाणित सूचनाका लागि उनले उजुरी दर्ता गरेका छन् । राष्ट्रिय सूचना आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकार, प्रधानमन्त्रीको कार्यालय समेतलाई बोधार्थ गरि पेश गरिएको उजुरी निवेदनमा क्वारेन्टाइन ब्यवस्थापन समिति गठन गर्न बसेको बैठकको निर्णय र समिति पदाधिकारीहरुको नाम तथा ठेगाना र कुन सदस्य वा पदाधिकारीको जिम्मेवारी कुन क्वारेन्टाइनमा थियो भनि सूचना माँग गरिएको हो ।

क्वारेन्टाइन ब्यवस्थापनमा भएको खर्च विवरण (हरेक क्वारेन्टाइन अनुसार र शीर्षक अनुसार खपत भएको सामाग्री र सुविधा) को दर रेट र बिल भरपाई, क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुको नाम र ठेगाना तथा क्वारेन्टाइन विवरण, गाउँपालिका कार्यालयमा रहेका कर्मचारी, करार कर्मचारी वा अन्यको नाम र पद समेतको विवरण तथा करार कर्मचारी वा अन्य कर्मचारीको तलब सुविधा समेतको विवरण माँग गरिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा खर्च भएको विकास बजेट र कुन कार्यका लागि कति रकम खर्च भएको हो, उक्त कार्यको जिम्मेवार ब्यक्ति, गत तीन वर्षको लेखा परीक्षण प्रतिवेदन, क्वारेन्टाइन ब्यवस्थापन समितिको कुन पदाधिकारीलाई कति भत्ता रकम दिइएको हो, सो सम्बन्धी प्रमाणित विवरण माग गरिएको निवेदन पत्रमा उल्लेख छ । गाउँपालिकामा सञ्चालनमा रहेका सवारी साधन, ती कुन कुन साधनमा पछिल्लो तीन वर्षभित्र इन्धनमा कति कति लागत खर्च आयो र मर्मत तथा सर्भिसमा लागेको रकमको विवरण लगायतको सूचना माँग गरिएको दीक्षितले बताएका छन् ।

नरैनापुर गाउँपालिकाले सम्पर्क कार्यालयको नाममा नेपालगन्जबाट नै कार्यालय सञ्चालन गरेको सन्दर्भमा पनि विवाद बढ्दै गएको पाइएको छ । स्थानीय युवा देवराज यादव भन्छन्, ‘बैंक लगायतका प्रभावकारी निकायहरु गाउँमा सञ्चालन भइरहँदा गाउँपालिकाको कार्यालय नेपालगन्जमा राखिएको प्रति विवाद सुरु भएको हो ।’ गाउँपालिकाले २१ लाख ३५ हजार रुपैयाँ क्वारेन्टाइन ब्यवस्थापन समितिका संयोजक बृजेन्द्रकुमार यादवको ब्यक्तिगत खातामा पेश्की दिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतवार १५:३७