सूचनाको शक्ति - The Power Of Information

        

सगरमाथा मापनमा भारतप्रति नेपालको विमति, चीनलाई के को दोष ?


लक्ष्मी लम्साल/बेइजिङ

‘देखो, देखो इण्डिया ने चारैतिरबाट घेर लिया है !’ बेइजिङमा प्रायः मध्यान्ह भोजनताका कार्यालयका अधिकांश स्टाफहरू नजिकैको विशाल क्यान्टिनमा खाना खाने गर्दछन् । विभिन्न देशका विशेषज्ञहरूमाझ दुई तीन जना भारतीयहरू पनि नियमित जस्तो सँगसँगै भोजनमा सामेल हुन्छन् । कहिलेकाहीँ टेबुल भरिएका बेला उनीहरू दायाँ बायाँको टेबुलमा नजिकिएर बस्छन् । नेपाली मित्रहरूले व्यंग्य गरेपछि उनीहरू पनि भन्छन्, ‘जागो, गोर्खा जागो । इण्डिया नहीं, चीन ने घेर रखा है ।’
प्रायः खानेकुरा जे जस्तो भएपनि भारतीय मित्रहरूसँग आउँदा दिनमा चीन र भारतको शक्ति, भारतीय राजनीतिक हस्तक्षेप, चीन–भारत टकराव र दुई ठूला मुलुकको बीचमा रहेको नेपाल जस्ता विषयमा चर्को बहस पनि हुने गर्छ । तीमध्ये एकजना कट्टर हिन्दु र भाजपाको समर्थक भएकाले मुस्लिम साथीहरू वरिपरि नभएको मौकामा प्रायः खुइल्याउन र नेपालमाथि भारतको नाकाबन्दी र राजनीतिक हस्तक्षेपको प्रतिरोध गर्नमै उद्यत भैरहन्छ । अर्का भारतीय बन्धु भने ‘नेपालका लागि भारत कहिले शत्रु र चीन कहिले मित्रु हुँदैन’ भनेर वकालत गरिरहेको हुन्छन् ।
वि.सं. २०७२ को वैशाख १२ को विनाशकारी भूकम्पछि सगरमाथाको उचाइ थपघट भएको हुनसक्ने भन्दै नेपालले पहिलो पटक उचाइ मापन प्रक्रिया शुरू गरेको हो । संयुक्त रूपमा मापनका लागि गरिएको भारतीय प्रस्ताव नेपालले अस्वीकार गर्नुका पछाडि चीनको हात रहेको भनेर प्रेस ट्रस्ट अफ इण्डियाले लेखेको थियो । त्यसदिन केही मिनेट ढिलो आएको भारतीय भैयालाई उसैगरी जिस्क्याउँदा उसले भन्यो, ‘नेपालको चीन ने पुरी तरहले पटा लिया यार । देखो, चीनीकी वजह से माउण्ट एभरेष्ट में इण्डियाको नही रखा । अब भारत नहीँ, चीन ने घेरना सुरू कर दिया ।’
पीटीआईको खबरमा नेपाली सर्वेक्षण विभागका निर्देशक गणेश भट्टले पीटीआईलाई चीन र भारतसँग महत्वपूर्ण तथ्यांकमा सहायता लिनसक्ने बताएकोमा नयाँ दिल्लीस्थित श्रोतले भारतीय प्रस्ताव अस्वीकृत हुनुमा चीनको हात रहेको शंका गरिएको थियो । भारतीय विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको विभागले सन् २०१५ मा गएको भूकम्प पश्चात् हिमाली शिखरको उचाइबारे धेरै शंकाहरू उत्पन्न गर्दै पुनःमापन हुनुपर्ने प्रस्ताव राखेको थियो । हाल नेपालसँग मिलेर सगरमाथाको संयुक्त मापनका लागि अनुरोध गर्ने निकायले नै २५० वर्ष अघि पनि सगरमाथा नापेको थियो । भारतका प्रमुख सर्वेक्षक मेजर जनरल गिरिश कुमारले पीटीआईसँग भनेः शुरूमा त नेपालले भारतीय प्रस्तावप्रति प्रतिक्रिया नै दिएन, अहिले आएर भारत वा चीन कसैलाई पनि सामेल गराउन्न भन्यो ।
उनी तिनै अधिकारी थिए, जो काठमाडौंमा भएको यसै विषयको बैठकमा सहभागी थिए, जहाँ चीन पनि थियो । उनले पनि चीनकै प्रतापले भारतलाई नसमेटिएको शंका गरे । चपस्टिकले मुखमा खाना हाल्दै नेपाली दाइले प्रतिक्रिया फर्कायो, ‘यो इण्डियाको चासोको कुरै हैन । चीन र नेपालको बीचमा रहेको हिमालको उचाइ नाप्दा भारत किन चाहियो? भारतले नेपालसँगको सीमा क्षेत्रमा चासो राख्ने हो नि ।’ चीनले यसअघि १९७५ र २००५ मा सगरमाथा मापन गरेको छ भने भारतले १९५६ मा नापेको थियो । त्यसअघि सर जर्ज एभरेष्टको नेतृत्वमा सन् १८५५ मा भारतले पहिलो पटक भाग लिने मौका पाएको थियो । हालसम्म विश्वव्यापी रूपमा सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर मानिएको छ ।
चिनियाँ अंग्रेजी अनलाइन ग्लोबल टाइम्सले गत अगष्टमै ‘भारतले हरेक कुरालाई सीमा विवादसँग जोड्नुहुँदैन’ भनेर सगरमाथाबारे भारतीय प्रस्तावमाथि नेपालले गरेको ढिलासुस्तीप्रति टिप्पणी लेखेको थियो । पछिल्लो समाचार आएपछि तत्कालै चिनियाँ लिपिका अनलाइनहरूमा पनि टिप्पणीहरू छरपष्ट भए । ह्वानछ्यौ, सिना लगायतका अनलाइनहरूले एउटै आशयका टिप्पणी लेखे, आफूलाई अभिभावक सोच्ने भारतले सोचेको होला, नेपाल यस मामिलामा पनि आज्ञाकारी ठहरिनेछ । भारतीय मिडियाले पनि अनुमान गरेका थिए, चीन–भारत दोक्लम विवादमा पनि नेपालले भारतलाई साथ दिनेछ, तर त्यो भएन । भारतले यसका पछाडि पनि चीनकै हात रहेको भन्ने मानसिकता पालिरहेको होला । चिनियाँ संचारमाध्यममा पाण्डाको श्यामश्वेत चित्र टाँसेर व्यंगात्मक ढंगले प्रश्न गरिएको छ, ‘सगरमाथामा नेपालले भारतलाई अनुमति दिएन त, फेरि चीनलाई नै दोष किन ?’
दुई देशका बन्धुबीच लञ्च डिनरहरूमा प्रायः वार्ता र विवाद चलिरहन्छ । उनीहरू बेला बेलामा भारतले कसरी नेपालजस्तो छिमेकीसँग दूरी बढाइरहेछ भनेर विश्लेषण पनि गर्दछन् । भाषा, नेपालको धर्मसँस्कृति, रीतिरिवाज चेलीबेटी सबकुछ भारतसँग मिल्छ, चीनसँग त केही पनि मिल्दैन । अनि थप्छन्, चीनसँग हिमालमात्रै साझेदार हो । तर हिमाली पवित्र जल र पवन भारतसम्म बहन्छ । सगरमाथा संसारको छानो हो । सगरमाथा मात्रैबाट पनि नेपालले सिंगो नेपाल पाल्न सक्छ । सगरमाथाका ढुंगा, पानी, हावा, जडीबुटी बेचेर पनि देशको पेट भर्न सक्छ, सगरमाथा नेपालको सञ्जीवनी नै हो । खाने क्रम सकिएको हुन्छ । पङ्कज भैयाले नेपालको समृद्धिका लागि केही महत्वपूर्ण प्राकृतिक श्रोतहरू भएको कोट्याएको छ एकपटक । उसलाई हिन्दीमै ‘लेखो लेखो, नेपाली मिडियामा अनुवाद गरेर निकाल्देंगे’ भनेपछि हौसिएको थियो । चार–पाँच पटक निरन्तर उसले एउटै वाक्य दोहोर्याइरहेको छ, ‘आधा लिखा, अब आधा बाँकी । जल्द ही खतम् हो जायगा ।’ नेपाल खबरबाट

प्रकाशित मिति : १८ पुष २०७४, मंगलवार ०६:०६