सूचनाको शक्ति - The Power Of Information

        

प्रतिवाद

सिडिओ सा’ब ‘झ्याप लकडाउन, कोरोना सफाचट’

सिडिओ सा’ब नमस्ते…

तपाईं बाँकेमा प्रमुख जिल्ला अधिकारीको आउनुभएको खबरले सम्पूर्ण नेपालगन्जवासीहरु उत्साहित भएको कुरा छर्लङ्ग छ । तपाईंले यस जिल्लामा आइसकेपछि गरेका सम्पूर्ण काम कारबाहीहरुलाई जनताले नजिकैबाट नियालेर विश्लेषण गरिरहेका छन् । तपाईंले गर्ने सकारात्मक कार्यमा हाम्रो साथ समर्थन र सहयोग हुन्छ । तपाईंले गर्ने नकारात्मक कार्यमा हाम्रो विरोध अर्थात प्रतिवाद हुन्छ । यो सामान्य मानवीय स्वभाव हो ।

गुण र दोषका आधारमा समर्थन र बिरोध हामी सचेत नागरिकहरुको तर्फबाट गर्ने कुरा हो । हामीले सिकेको र बुझेको सत्य पनि यहि हो । कोरोना सङ्क्रमितको सङ्ख्या बाँकेमा दिनानुदिन कम हुँदै गइरहेको अवस्थामा एक्कासी त्रिभुवन चोक र आन्तरिक राज्स्व कार्यालयमा कोरोना सङ्क्रमित भेटिँदा तपाईंले चालेको कदमलाई त्यति ठिक नठानेर केहि लेख्ने र यसको जनस्तरबाट नै प्रतिवाद गर्नुपर्छ भनेर केहि शब्द लेख्ने कोषिश गरियो ।

आशा छ, यसलाई सुझावका रूपमा लिनुहुनेछ ।

१. तपाईं साउथ इन्डियन फिल्मको हिरो वा नेपाल सरकारको एक कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारी ?

२. तपाईंको नजरमा लकडाउन र निषेधाज्ञा त्यस्तो कुनै जादुको छडी हो, ‘झ्याप लकडाउन, कोरोना सफाचट’ भइहाल्ने ? के तीन दिनको निषेधाज्ञाले नेपालगन्जमा कोरोना बिलाएर जान्छ ?

३. सडक ठुलो हुल र भीड बनाएर प्ले कार्ड बनाउँदै मास्क लगाउ भन्दै हिरोगिरी शैलीमा हिडेर कोरोना नियन्त्रण गर्न सम्भव छ ?

४. धेरै मान्छे जम्मा हुन नपाइने, भेला समारोह कार्यक्रम गर्न नपाइने भन्ने गृहमन्त्रालयको निर्देशनलाइ कार्यान्वयन गराउने ठाउँमा उल्टै आफैंले उल्लंघन गरिदिने ?

५. के कोरोनाले दुई दिनअघि या पछिको झन्डावाल गाडी चढ्नेको साइकल चढ्ने को कर्मचारी को नागरिक छुट्याउछ ? गर्ने भए आजैबाट किन नगरेको त ?

६. एक्कासी २५÷३० जनामा सङ्क्रमित देखिए भन्दैमा यसरी आत्तिनु, समुदायस्तरमै फैलियो भनेर भन्न सक्ने तथ्य के छ यहाँका स्वास्थ्य विशेषज्ञहरुसँग ? हामीलाई यसको जवाफ चाहिन्छ ? यदि समुदायस्तरमै फैलिएको ग्यारेन्टी हो भने हामी आफैं ढोकाको चाबी लगाएर घरमै बस्नेछौं । हैन भने लहडको भरमा कदम चाल्ने ?

७. बिस्तारै बिस्तारै सहज हुदै गइराखेको नेपालगन्जलाई मनोवैज्ञानिकरुपमा सन्त्रास पैदा गरेर नेपालगन्जबासीलाई किन कमजोर बनाउने ? यसको जिम्मेवार पक्ष एउटा स्वयम तपाईं हुनुपर्छ कि पर्दैन ?

८. के हामीले परिक्षणको दायरालाई बढाउँदै लगेका छौँ, अधिकतमभन्दा अधिकतम श्रोत र साधनलाई परिचालन गरेर धेरैभन्दा धेरै पीसीआर टेस्ट भइराखेको छ, यसमा तपाईंले कस्तो भूमिका खेल्नुभएको छ ?

९. सिमाबाट भित्रिने नागरिकको बारेमा हामिले के गर्नु पर्दथ्यो, के गरिराखेका छौँ त्यसबारे तपाईंको ध्यानाकर्षण भएको छ या छैन ?

१०. जिल्लाको सिडिओ हुनुको नाताले यहाँका सबै राजनीतिक दल, जनप्रतिनिधि एव सरोकारवाला पक्षसँग छलफल गर्नुपर्दछ कि पर्दैन ? तपाईं नै सर्वेसर्वा हो ?

११. जहाँ सङ्क्रमित भेटिएका छन्, त्यहाँ आसपासको एरिया सिल गर्ने, धेरैभन्दा धेरै पीसीआर परिक्षण गर्ने, सङ्क्रमित भेटिएको स्थललाई स्यानिटाइज गर्ने, आदि कार्यहरू गर्नुको सट्टामा पुरै नेपालगन्जलाइ बन्द गरिदिने ? जबकी राज्यले नै लकडाउनको अन्त्य गरिसक्यो, तपाईंले आफ्नो अनुकूलको परिस्थिति बनाउन सिङ्गो नेपालगन्जलाइ बन्द गर्ने र कोरोना नियन्त्रणको स्वामित्व लिन गरिएको प्रयासको रुपमा पनि यसलाई बुझ्न सकिन्छ ?

१२. यहाँका बुद्धिजीवी, नागरिक समाज, व्यापारीक प्रतिष्ठान, उद्योगी ब्यवसायीहरु मिडियाकर्मीले यो विषयलाई गम्भीरतापूर्वक लिदै तुरुन्तै लकडाउन अर्थात् निषेधाज्ञा फिर्ता लिएर सङ्क्रमित भएको स्थान र सङ्क्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका मानिसहरुको स्वाब परिक्षण गर्ने र बन्द गर्न लागेको नेपालगन्जलाई खुलाउन आआफ्नो तर्फबाट महत्वपूर्ण आवश्यकतालाई बोध गरौं ।

(लेखक नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।)

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १४:४६