सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना सङ्क्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीइओसहित तीन जनाको मृत्यु

वीरगञ्ज । पर्सामा बिहीबार जगदम्बा इन्टरप्राइजेजका मुख्य कार्यकारी अधिकृत (सीइओ)सहित तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमित जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय सीइओको नारायणी अस्पताल अन्तरगतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

गण्डक अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा साउन १३ गतेदेखि उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका वडा नं.१६, नगवाका ३५ वर्षीय युवकको बिहीबार मृत्यु भएको थियो । त्यस्तै, वीरगञ्ज महानगरपालिका वडा नं.२, छपकैयाका ७० वर्षीय ज्येष्ठ नागरिकको आफ्नै घरमा मृत्यु भएको थियो ।

बिहीबार मृत्यु भएका दुवैको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित सीइओको केही समयअघि मुटुको बाइपास शल्यक्रिया गरिएको र कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन ७ गतेदेखि कोरोना अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

बिहीबार राति पौनै ११ बजे सीइओको मृत्यु भएको डा.सिंहले जानकारी दिए । त्यस्तै, नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा साउन १३ गतेदेखि उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका वडा नं. १६, नगवाका ३५ वर्षीय युवकको बिहीबार मृत्यु भएको थियो ।

उहाँको बिहीबार बेलुकी ८ बजे उपचारको क्रममा मृत्यु भएको हो । अर्का ७० वर्षीय व्यक्ति भने बिहान मृत अवस्थामा आफ्नै घरमा फेला परेका हुन् । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरी बिहीबार राति १० बजे आएको रिपोर्टमा मृतक दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए ।

साउन ५ गते ज्वरो आएपछि स्थानीय क्लिनिकमा जँचाएर औषधी सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि युवक तराई हस्पिटलमा उपचार गराउन पुगेका थिए । तराई हस्पिटलमा भर्ना भएर उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाई साउन १३ गते गण्डक अस्थायी कोभिड अस्पतालमा लगेर उपचार सुरु गरिएको थियो ।

साउन १३ गतेदेखि गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको मृत्यु भएको थियो । त्यस्तै, छपकैयास्थित घरमा एक्लै बस्दै आएका ७० वर्षीय ज्येष्ठ नागरिक बिहीबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको थियो । राति सुतेको उनी बिहीबार बिहान नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय, बिर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा उनी कोठामा मृत अवस्थामा थिए । साउन १ गतेदेखि हालसम्म पर्सामा कोरोना सङ्क्रमण भएका १० जनाको मृत्यु भइसकेको छ भने अझ चार जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा. निरजकुमार सिंहले जानकारी दिए ।

अवस्था गम्भीर रहनेमा तीन जना आईसियूमा उपचाररत सङ्क्रमित हुन् भने एक जना शङ्कास्पद सङ्क्रमित हुन् । कोरोना अस्पतालमा उपचाररत अधिकांश सङ्क्रमितहरूमा कोरोनाको जस्तै लक्षण देखिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १०:५६