
काठमाडौं । बन्दाबन्दी खुलेपछि दैनिक औसतमा बन्दाबन्दी खुल्नु अगाडि भन्दा २२ प्रतिशतले कोभिड १९ संक्रमितको संख्या बढ्दै गएका छन् । बन्दाबन्दी खुल्नु अगाडिको ८ दिन र खुलेपछिको ८ दिनको औसत संक्रमण पुष्टि भएको संख्यालाई आधार मान्दा दैनिक औसतमा ३० जना बढी संक्रमित पुष्टि हुँदै आएको छ ।
बन्दाबन्दी खुलेपछिको ८ दिनमा एक हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ । बन्दाबन्दी खुल्नु अगाडिको ८ दिनमा १ हजार ४९ जनामा संक्रमण पुष्टि भएको थियो । औसतमा हेर्दा यो संख्या लकडान खुल्नु अगाडि दैनिक १३१ थियो भने बन्दाबन्दी खुलेपछि दैनिक १६० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण बढ्दै गए पनि परीक्षणको दर भने उही गतिमा छ । सरकारले परीक्षण दर बढाउने बताउँदै आए पनि तथ्यांकले बन्दाबन्दी खुलेपछिको ८ दिन र खुल्नु अगाडिको ८ दिनमा परीक्षण दर देखाउँछ । बन्दाबन्दी खुलेपछि दैनिक औसत चार हजार ३१४ जनाको परीक्षण भएको छ भने खुल्नु अगाडि चार हजार २९६ जनाको स्वाब परीक्षण भएको थियो ।
बन्दाबन्दी खुलेपछिको ८ दिनमा ३४ हजार ५०८ परीक्षण गरिएकोमा अगाडिको ८ दिनमा ३४ हजार ३७१ जनाको स्वाब परीक्षण गरिएको थियो । बन्दाबन्दी खुलेपछि कुल परीक्षणको औसतमा ३.७ प्रतिशतमा संक्रमण पुष्टि हुँदै आएको छ भने बन्दाबन्दी खुल्नु अगाडि कुल परीक्षणको ३ प्रतिशतमा संक्रमण पुष्टि हुँदै आएको थियो ।
७२.८ प्रतिशत संक्रमित डिस्चार्ज
हालसम्म नेपालमा १९ हजार २७३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ४९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यद्यपि प्रदेश सरकारको तथ्यांकअनुसार मृत्यु हुने संक्रमितको संख्या ५७ पुगिसकेको छ । संक्रमण पुष्टि भएकामध्ये १४ हजार २१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । जुन कुल संक्रमितको ७२.८ प्रतिशत हो ।
संक्रमण पुष्टि भएकामध्ये ०.३ प्रतिशतको मृत्यु हुनुका साथै हाल २७ प्रतिशत उपचारका क्रममा आइसोलेसनमा रहेका छन् । तथ्यांकमा आरटी पीसीआर परीक्षण गरिएकामध्ये ५.४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल २२ जना नागरिकको अवस्था गमीभिर रहेको र उनीहरुको उपचार आईसीयु र भेन्टिलेटरमा राखेर भइरहेको छ । जसमध्ये प्रदेश २ मा ५ जना, वागमतीमा १४, गण्डकीमा २ र कर्णालीमा १ जनाको उपचार आईसीयु र भेन्टिलेटरमा राखेर गरिएको छ ।
प्रदेश २ मा सबैभन्दा बढी संक्रमित
हाल संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी संक्रमित प्रदेश २ मा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा पाँच हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजार १८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने दुई हजार ४६ जना उपचारकै क्रममा छन् ।
त्यस्तै १३ जना संक्रमितको मृत्यु भएको छ । यहाँ मृत्यु हुने मध्ये १ जना भारतीय हुन् । प्रदेश ५ मा पनि १३ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु भएकामध्ये ३ जनको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको छैन । प्रदेशको स्वास्थ्य निर्देशनालयले दुई आत्महत्या र एक भारतमा मृत्यु भई प्रदेशमा परीक्षण गरिएका व्यक्तिलाई पनि मृत्युमा समावेश गरेको छ ।
त्यस्तै वागमती प्रदेशमा एक हजार ३३ जनामा संक्रमण पुष्टि भएकामध्ये १० जनाको मृत्यु भएको छ । जसमध्ये एक जना चिनियाँ नागरिक हुन् । संक्रमितमध्ये ५१८ डिस्चार्ज भएका छन् भने ५०५ जना आइसोलेसनमा छन् । सुदुरपश्चिम प्रदेशमा ९ संक्रमितको मृत्यु भएको छ भने चार हजार ४२४ जना संक्रमितमध्ये एक हजार ५४३ जना आइसोलेसनमा छन् ।
सुदुरपश्चिममा दुई हजार ८७३ जना डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयले प्रदेशमा ७ जनाको मृत्यु भएको उल्लेख गरे पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले दुई जना आत्महत्या गरेका संक्रमितलाई पनि मृत्युमा समावेश गरेको छ । कर्णाली प्रदेशमा ६ जनाको मृत्यु भएको छ । ६ जनामध्ये २ जनाले आत्महत्या गरेका हुन् ।
प्रदेशमा एक हजार ९९५ जनामा संक्रमण पुष्टि भएकोमा दुई एक हजार ६८६ जना डिस्चार्ज भइसकेका छन् । यहाँ ३०३ जना उपचारका क्रममा छन् । त्यस्तै गण्डकी प्रदेशमा पनि मृत्यु हुनेको संख्या ६ छ । जसमध्ये एक जना आत्महत्याको प्रयास गरेका र उपचारका क्रममा संक्रमण पुष्टि र मृत्यु भएका छन् ।
प्रदेशमा एक हजार ५५९ जनामा संक्रमण पुष्टि भएकोमा एक हजार २२७ जना संक्रमित डिस्चार्ज भइसकेका छन् । त्यहाँ ३२६ जना संक्रमित उपचारका क्रममा छन् । कम संक्रमण पुष्टि भएको प्रदेश हो प्रदेश १ । यहाँ एक हजार २४ जनामा संक्रमण पुष्टि भएकामा २३४ जना आइसोलेसनमा छन् । ७८९ जना डिस्चार्ज भइसकेकोमा एक जनाको मृत्यु भएको छ । बुधवार अबेर मृत्यु भएका मोरङका ४५ वर्षका पुरुषको पुष्टि मन्त्रालयले गरिसकेको छैन ।
२१–३० वर्ष उमेर समूहमा धेरै संक्रमण
उमेर समूहका आधारमा संक्रमितहरुको वर्गीकरण गर्दा सबैभन्दा बढी २१ वर्षदेखि ३० वर्ष उमेर समूहमा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये ३७.५ प्रतिशत संक्रमित यही उमेर समूहका छन् । यो उमेर समूहका पाँच हजार २२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि ३१ देखि ४० वर्ष उमेर समूहका २३.४ प्रतिशत संक्रमित छन् ।
यो समूहका चार हजार ५१७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि ११ देखि २० वर्ष उमेर समूहका किशोरोकिशोरीमा संक्रमण बढी देखिएको छ । कुल संक्रमितमध्ये यो उमेर समूहका १९.६ प्रतिशत छन् । जुन तीन हजार ७८० हो । त्यस्तै ४१ देखि ५० वर्ष उमेर समूहका १०.१ प्रतिशत छन् । यो उमेर समूहका १ हजार ९४४ जना संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये १० वर्ष मुनिका बालबालिका तथा शिशुहरु ४ प्रतिशत छन् । ३ महिनाका शिशुसम्म कोभिड–१९ को संक्रमणबाट अछुतो छैनन् । यो उमेर समूहका ७६३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५१–६० वर्ष उमेर समूहका ३.८ प्रतिशत छन् । यो समूहका ७६३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ६१ देखि ७० वर्ष उमेर समूहका १.३ प्रतिशत संक्रमित छन् । यो उमेर समूहका २४७ र नगन्य मात्रामा ७१ वर्ष देखि माथिको उमेर समूहका संक्रमित छन् । विदेशमा यही उमेर समूहका संक्रमित बढी रहेको र मृत्यु पनि यही समूहका भए पनि नेपालमा यो उमेर समूहमा संक्रमण कम छ । ७१ देखि ८० वर्षसम्मका ५९ र ८० वर्षभन्दा माथिका १६ जनामा संक्रमण पुष्टि भएको छ ।
सत्यपाटी ।